अरुण तेश्रोको विद्युतगृहमा विस्फोट गराउने अझै पत्ता लागेन, जिम्मेवार को ?



गत बैशाखमा अरुण तेश्रोको कार्यालय तुम्लिङटारमा बम प्रहार पछि भत्किएको पर्खाल ।

सङ्खुवासभा । बहुप्रतिक्षित अरुण तेश्रो जलविद्युत आयोजनालाई लक्षित गरि दुई हप्ता अघि चिचिला गाउँपालिका ३ स्थीत परियोजनाको पावर हाउस निर्माण क्षेत्रमा बम विष्फोट भयो । यो सँगै अरुण तेश्रोलाई लक्षित गरेर आक्रमण भएको चौथो पटक हो ।

पावर हाउस क्षेत्रमा तीन पटक आक्रमण भएको छ भने गत बैशाखमा तुम्लिङटार स्थीत अरुण तेश्रोको कार्यालयमा बम प्रहार गरिएको थियो । यसरी पटक पटक विष्फोटक पदार्थ (बम) को प्रयोग गरि आक्रमण भईरहे पनि कस्ले र किन आक्रमण गर्यो भन्ने विषय भने खुल्न सकेको छैन । आक्रमण गर्ने पक्षको खोजी र घटनाको अनुसन्धान गरिएपनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।

घटनापछि प्रहरी प्रसासनले नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले विष्फोटन गराएको आसंका गर्दै आएका छन् । ६ बर्ष अघि पावर हाउस निर्माण क्षेत्र पुखुवामा भएको आगजनीको जिम्मेवारी लिएपछि पछिल्लो तीन वटा घटना पनि विप्लप समुहले गराएको हुनसक्ने प्रसासनको दावी छ । तर, पछिल्लो तीन घटनाको जिम्मेवारी कसैले लिएको छैन । यस विषयमा विप्लप नेतृत्वको नेकपाको प्रदेश सदस्य डिबि सिलवालसँग कुरा गर्दा आफुहरुले आक्रमण नगरेको दावी गर्नु भयो । नेपाल आफैले अरुण तेश्रो बनाउनु पर्ने पक्षमा रहेको भएपनि पछिल्लो आक्रमणहरुमा आफुहरुको संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसरी आसंका गरिएको पक्षले पनि घटनाको जिम्मेवारी नलिएपछि यसको जिम्मेवार को ? भन्ने प्रश्न धेरैले गर्न थालेका छन् । यस अघि पनि पुखुवामा बम विष्फोट भएपछि अरुण तेश्रोको सुरक्षार्थ प्रहरीको संख्या बढाएर २५ पराईएको थियो । निर्माणाधिन अरुण तेश्रोमा नेपाली सेनाले समेत सुरक्षा दिईरहेको छ । त्यो बाहेक अन्य प्रहरीको मोबायल टोलीले पनि गस्ति गर्दै आएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारु मगरको दावी छ ।

यसरी बाक्लो सुरक्षा गस्ती र आशंका गरिएको पक्षले पनि घटनाको जिम्मेवारी नलिएपछि केही स्थानीय नागरिकहरुले भने विद्युत निर्माण पक्षलाई नै शंकाले हेर्न थालेका छन् । विष्फोटनका सामग्रीहरु उनीहरुको पहुँचमा हुनसक्ने भन्दै विष्फोटनको घटनामा उनीहरु आफै संलग्न हुनसक्ने स्थानीयको आरोप छ । आफै विष्फोट गर्दै सुरक्षा चुनौति देखाएर भारतीय सुरक्षा फौज त्यस क्षेत्रमा ल्याउन प्रपञ्च रच्न लागेको हुन सक्ने चिचिला गाउँपालिका (हाल खाँदबारी)का ताराबहादुर बुढाथोकीको आरोप छ । सुरक्षाको कारण देखाएर योजनाबाट भाग्न वा उनीहरुको सुरक्षाकर्मी ल्याउनको लागि आफैले विष्फोट गराएको हुनसक्ने उहाँले बताउनुभयो । स्थानीय स्तरमा केही नागरिकहरुले मुआब्जा पाईनसकेकोले केही बिवाद भएपनि विष्फोटक पदार्थ नै प्रयोग गर्नु पर्ने अवस्था नभएको स्थानीय नागरिकहरुको भनाई छ ।

यस विषयमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईसँग कुरा गर्दा भनिए जसरी भारतीय सेना ल्याउन सक्ने अवस्था नरहेको बताउनुभयो । पिडिएमा भएको सम्झौता अनुसार मात्र निर्माण पक्षले गर्न पाउने भएकोले भारतीय सेना ल्याउन सम्भावना नरहेको सचिव राईको भनाई छ । निर्माण क्षेत्रमा सुरक्षा चुनौति भए उनीहरुले विशेष सुरक्षा फौज (डेडिकेटेड फोर्स) नेपालसँग माग्न सक्ने उहाँले बताउनुभयो । असुरक्षा महसुस हुँदा पनि नेपाली सुरक्षा फौजको ब्यवस्था हुने भएकोले उनीहरुको त्यस्तो रणनिती हुने सम्भावना नरहेको सचिव राईले स्पष्ट पार्नुभयो । पछिल्लो घटनापछि अरुण तेश्रो निर्माण कम्पनी सतलज जलविद्युत निगमले डेडिकेटेड फोर्सको माग समेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार