बृहद विकास गुरुयोजना बनाउदै चिचिला गाउँपालिका



सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकाले बृहद विकास गुरुयोजना बनाउन सुरु गरेको छ । गाउँपालिकाको सवै क्षेत्रको समानुपातिक विकास गर्ने लक्ष्यका साथ गुरुयोजना निर्माण गर्न लागि परेका हुन् ।

गाउँपालिकाले बृहद गाउँपालिका विकास गुरुयोजना, गाउँपालिका यातायात गुरुयोजना र भवन निर्माण मापडण्ड निर्माण गर्न लागेका हुन् । गुरुयोजना निर्माणको लागि खुल्ला प्रतिष्पर्धाबाट तीन परामर्शदाताहरु चयन गरेर काम सुरु गरेका छन् । विकास गुरुयोजनाको लागि नियात्रा कन्सल्ट प्रा.लि, ललितपुर, यातायात गुरुयोजनाको लागि युनाईटेड नेपाल ईञ्जीनियर कन्सल्टेन्सी प्रा, लि, लिलितपुर र भवन निर्माण मापडण्डको लागि सवनम् ईञ्जिनियरिङ कन्सल्ट काठ्माण्डौलाई छनौट गरेका हुन् । उक्त तीन वटा गुरुयोजना निर्माण गर्न गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गुरुयोजना निर्माणको औपचारिक उद्घाटन गरेर निर्माण कार्य सुरु गरेको छ । गुरुयोजना निर्माणको जिम्मा पाएको परामर्शदाताहरुले प्रत्येक वडामा गएर गुरुयोजना सम्बन्धी अन्तरकृया सुरु गरेका छन् । परामर्शदाताहरुले गाउँपालिकाको पाँचवटै वडाका स्थानीयसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेर कार्यपालिकामा पुनः छलफल गरेर निर्माण प्रकृया अगाडी बढाईने गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सम्पुर्ण गुरुयोजना निर्माण गरिसक्न कम्तिमा ४ महिनासम्म लाग्ने समेत शेर्पाले बताउनुभयो ।

हालसम्म स्थानीयको मागको आधारमा विकास बजेट विनियोजन गरिदै आएकोमा अवको आर्थिक बर्षदेखि गुरुयोजना अनुसार गाउँपालिकाले बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ । ‘यस अघि गुरु योजना नहुँदा अनावश्यक ठाउँमा पनि बजेट जान सक्थ्यो, अब गुरु योजना बनेपछि उचित ठाउँमा मात्र बजेट लगानी हुन्छ’, शेर्पाले भन्नुभयो । गुरु योजना बनेपछि विबाद कम हुने भएकोले विकासले तिब्रता पाउने शेर्पाले विश्वास ब्यक्त गर्नुभयो । गुरुयोजना निर्माणको क्रममा सर्वमान्य बनाउनको लागि सवै राजनितिक दलका प्रतिनिधी, नागरिक अगुवा, युवा बुद्धिजिवीहरुसँग पर्याप्त छलफल गरिदै आएको समेत शेर्पाले बताउनुभयो ।

गुरुयोजना निर्माणपछि उचित ठाउँमा ठुलो परिणामको बजेट विनियोजन हुँदा कार्यन्वयन पक्ष प्रभावकारी हुने गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश मगरले विश्वास ब्यक्त गर्नुभयो । विकासको स्पष्ट खाका नहुँदा सानो आकारको बजेट सवैतिर बाँड्दा योजनाको संख्या धेरै हुने हुँदा कार्यन्वय गर्न गाह्रो समस्या हुने गरेको बताउनुहुँदै अव त्यस्तो झण्झट नहुनेमा उहाँका भनाई छ ।

सम्बन्धित समाचार