सिलिचोङवासी भन्छन्: हाम्रोमा माननीयहरु आउनै नहुने हो ?



चुनावि अभियानको क्रममा बुधबारे पुगेका संघिय सांसद राजेन्द्र गौतम र प्रदेश सांसद पुर्णप्रसाद राई ।

आफुलाई आवश्यक परेको बेला सम्झने तर आफ्नो काम बनेपछि नचिन्ने प्रबृत्ति नेताहरुमा हुन्छ भन्ने राजनितिक दलका नेताहरुले खेप्नु परेको आरोप हो । अझ भनौ चुनावको बेला मात्र चिन्ने, जितिसकेपछि नचिन्ने प्रबृत्ति नेताहरुमा हुन्छ भन्ने सुनिदै आएको नौलो विषय होईन ।

पछिल्लो समय सिलिचोङ गाउँपालिकाका नागरिकहरुले पनि सांसदहरुलाई उक्त आरोप दोहोराउन थालेका छन् । चुनाव अघि पटक पटक राजनितिक दलका नेता र उमेदवारहरु पुगेपनि चुनाव सकिएपछि र जितिसकेपछि हालसम्म कुनै सांसदले अरुण नदि नतरेको आरोप लगाउन थालेका हुन् । भौगोलिक हिसावले दुर्गम मानिएको सिलिचोङ गाउँपालिकालाई भोट बैंकको रुपमा मात्र हेरिएको स्थानीयको आरोप छ ।

चुनाव अघि विभिन्न आश्वासन दिएर भोट मागेको र उल्लेख्य मत प्रदान गरेर जिताएपछि वास्ता समेत नगरेको सिलिचोङ ३ का रानाहाङ राईले गुनासो गर्नुभयो । ‘चुनाव अघि सवै थोक पुरा गरिदिन्छु भनेर भोट माग्दै आए, अहिले त सायद सिलिचोङको विकासको लागि बोलेको कुराहरु सवै विर्सेका होलान्’ राईले भन्नुभयो । उहाँले थप्नु भयो, ‘चुनाव सकिएको यत्तीका समय भईसक्यो, न प्रदेशको सांसद आए न त संघको, अरु स्थानीय तह तिर त पटक पटक पुगेको खबर सुनिन्छ ।’

विगत बर्षहरुमा पनि धेरै जनप्रतिनिधीहरुले भोट बैंकको रुपमा मात्र हेरेकोले सिलिचोङ क्षेत्रमा विकास हुन नसकेको स्थानीयको आरोप छ । संघ र प्रदेशले अन्य तहको तुलनामा कम बजेट पठाएको र गाउँपालिकासँग समन्वय विना आफु खुसी बजेट पठाएको स्थानीयको गुनासो छ । स्थानीय तहसँग समन्वय नहुँदा स्थानीय तहले छुटाईसकेको ठाउँमा पुन अर्को बजेट हाल्दा कार्यन्वयनमा समस्या रहेको नागरिकहरुको भनाई छ ।

समय मिलाएर प्रदेश वा संघका सांसदहरु आएर सिलिचोङ क्षेत्रको विकास बारे आफ्नो दृष्टिकोण र गरिरहेको प्रयासको बारेमा बोलिदिए मात्र पनि यतिका गुनासो नआउने सिलिचोङ ३ का अर्को स्थानीय तारामणी कुलुङले बताउनुभयो । चुनावको बेला मात्र अरुण तर्ने, चुनावपछि विर्सने ब्यावहारले आफुहरु दुखी बनेको कुलुङको पनि भनाई छ । अहिलेका सांसदहरु अरुण नदि र संखुवा खोलामा मोटरेबल पुल बनाउछु भनेर गएको तर जितिसकेपछि बिर्सिएको नागरिकहरुको आरोप छ । ‘थप विकासका योजनाहरु दिनको साटो गाउँपालिकालाई आउने सुविधाहरु पनि कटौती गरेर अन्यत्र दिएको भन्ने सुनिएको छ, यो भन्दा दुख लाग्दो कुरा सिलिचोङवासीको लागि के हुन सक्छ’, कुलुङले भन्नुभयो । उहाँले थप्नुभयो, ‘हामी त चाहन्छौं, हाम्रा सांसदहरु कहिलेकाही त सिलिचोङ पनि हेर्न आउन्, हाम्रा समस्याहरु बुझेर सहयोग गरुन्, तर नेताहरुको हेपाहा प्रबृत्ति अझै उस्तै पायौं ।’

यस विषयमा संघिय सांसद राजेन्द्र गौतमसँग कुरा गर्दा आफुले सवै स्थानीय तहहरुलाई समान रुपमा हेर्ने गरेको बताउनुभयो । आफ्नो संयोजकत्वमा रहेको स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेटबाट यस बर्ष २३ लाख रुपैयाँ सिलिचोङलाई उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । ब्यस्तता र कामको चापले सिलिचोङ क्षेत्रमा पर्याप्त समय लिएर पुग्न नसकेपनि विकासमा चासो रहदै आएको बताउनुभयो । अरुण नदिमा पुल निर्माण गर्न आफु सकरात्मक भएर लागि परेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार