सिलिचोङका दुर्गम बस्तीहरुमा स्ट्रेचर वितरण गरिदै




खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिकाका दुर्गम गाउँहरुमा ठुलो परिणाममा स्ट्रेचर वितरण गरिने भएको छ । सिलिचोङ गाउँपालिका समन्वय समिति काठ्माण्डौले अभियान सञ्चालन गरेर स्ट्रेचर वितरण गर्न लागेको हो ।

समितिको अगुवाईमा देश विदेशमा रहेका दाताहरुबाट आर्थिक रकम संकलन गरेर स्ट्रेचर खरिद गरि आगामी बैशाख १ गते वितरण गर्न लागिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका प्रत्येक टोलहरुलाई निशुल्क स्ट्रेचर वितरण गरिने अध्यक्ष कुलुङले जानकारी दिनुभयो । जम्मा ८ लाख ४१ हजार रुपैयाँ संकलन भएको रकमबाट एक सय २३ वटा खरिद गरिएको समितिले जनाएको छ ।

सिलिचोङ गाउँपालिका अत्यन्तै दुर्गम रहेको र अत्यावश्यक स्ट्रेचर समेत अभाव हुने हुँदा यो अभियान सञ्चालन गरिएको समितिले जनाएको छ । ‘प्रत्येक टोलमा आवश्यक परेको बेला बढीमा २० मिनेट भित्र उपलब्ध हुने गरि स्ट्रेचर बाँड्न लागेका छौ, यसबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ’, अध्यक्ष कुलुङले भन्नुभयो । स्ट्रेचर बाँडिएसँगै बढीजसो गर्भवती महिलाहरुलाई अस्पताल पुराउन सहजता मिल्ने कुलुङको दावी थियो ।

समितिद्वारा बिहिबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुलुङले सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार