अन्तराष्ट्रिय साँस्कृतिक महोत्सव नरोक्न अदालतको आदेश



संखुवासभा । शक्ति पिक म्युजिक फेस्टीभल प्रा.लीले आयोजना गर्न लागेको अन्तराष्ट्रिय साँस्कृतिक महोत्सवलाई रोक नलगाउन उच्च अदालत बिराटनगर धनकुटा ईजलासले अन्तरीम आदेश जारी गरेको छ । चैत २२ गते देखि २९ गतेसम्म मादी नगरपालिका–१ रांके डाडाँमा गर्ने भनिएको महोत्सव जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएपछि रिट दर्ता गरेको थियो ।

रिटको विषयमा बुधबार धनकुटा ईजलासमा भएको वहसमा कम्पनीले आफ्नो उद्देश्य अनुरुप कार्यक्रम गर्नलाई कानुनतः रोक लगाउन सक्ने नदेखिएको बताइएको छ । महोत्सवमा लागु पदार्थको प्रयोग, अश्लील गतिविधि र खुला यौन गतिविधि हुने भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले चैत २१ गते महोत्सव नगर्न सूचना जारी गरेको थियो । चौकी राके डाँडा (तीनजुरे, मिल्के र जलजले) क्षेत्रमा आयोजना गर्ने भनिएको अन्र्तराष्ट्रिय साँस्कृतिक महोत्सव नगर्ने सुचना जारी गरेको थियो ।

शक्ति पिक कम्पनीले अन्र्तराष्ट्रिय साँस्कृतिक महोत्सव नेचर क्याम्पीङ, फोरेष्ट लाईभ म्युजिक, नेचर मेडिटेशन, योगा, हिलिङ नाम दिएतापनि जिल्ला प्रशासनले भने ट्रान्स पार्टी प्रकृतिको हुन सक्ने भन्दै रोक लगाएको थियो ।

यता महोत्सवको आयोजक शक्ति पिक म्युजिक फेस्टीभल प्रा.लीका अध्यक्ष समेत रहेका सुवास केसीलाई २९ गते भित्रमा उच्च अदालत धनकुटामा उपस्थित गराउन आदेश दिइएको छ । केसी जिल्ला प्रहरी कार्यालय संखुवासभामा थुनामा रहेका छन् ।

सम्बन्धित समाचार