मनै लाेभ्याउने राताम्मे टिएम्जे



मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस्थित ‘गुराँसको राजधानी’ तीनजुरे–मिल्के–जलजले ९टीएमजे० क्षेत्र यतिबेला राताम्मे छ । राष्ट्रिय फूल लालीगुराँससहितका विभिन्न प्रजातिका गुराँस फुलेर ढकमक्क भएको टीएमजे क्षेत्र झरिझट्ट सजिएर अन्मिन लागेकी बेहुलीझैँ देखिएको छ ।

टीएमजेलाई त्यत्तिकै गुराँसको राजधानी भनिएको होइन । फुल्ने समय र फूलको रङ, पात र बोटको आकारका आधारमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस टीएमजेमै पाइन्छ । गुराँसमात्र होइन, वनै सेताम्मे पारेर फुल्ने चाँपलगायतका विभिन्न फूलले पनि टीएमजेको गुराँसे सौन्दर्यमा थप विविधता दिएको छ । खासगरेर चैतको मध्यदेखि वैशाखको मध्यसम्म सौन्दर्य पारखीले टीएमजेको भ्रमण गर्नु उपयुक्त हुन्छ । योबीचको समयमा गुराँस सबैभन्दा बढी फुल्छ । वसन्त ऋतुको आगमनसँगै वनैभरि ढकमक्क फुल्ने गुराँसले सबैको मन लोभ्याउँछ । तेह्रथुमको वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मङ्गलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँबायाँ गुराँसै गुराँस देख्न सकिन्छ । पदमार्गमा भेटिने पाँचपोखरी, लामपोखरी, गुफापोखरी, जोरपोखरी, झ्याउँपोखरीलगायतका साना–ठूला पोखरी यहाँका थप आकर्षण हुन् । यसका साथै डाँडैडाँडा भएर टीएमजे छिचोल्ने पदमार्गबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, चाम्लाङ र सगरमाथालगायतका हिमशृङ्खलाको दृश्यावलोकन पनि गर्न सकिन्छ । करिब २२ सयदेखि साढे चार हजार मिटरसम्मको उचाइमा फैलिएको टीएमजे क्षेत्र हिमपात हुँदा पनि हिउँ खेल्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेकै छ ।

यहाँका जैविक विविधता, स्थानीय जातजातिको संस्कृति तथा रहनसहन, डाँडाकाँडा र भीरपाखायुक्त भूगोल पनि जोकोहीका लागि चाखको विषय हुन सक्छ । यद्यपि, टीएमजेको बढी चर्चा भने गुराँसबाटै भएको छ । वसन्तपुरबाट यात्रा सुरु गर्ने हो भने क्रमशः बढी उचाइको क्षेत्रतर्फ यात्रा अगाडि बढ्छ । अर्थात् माथिल्लो क्षेत्र उच्च पहाडी तथा हिमाली क्षेत्र हो । त्यसैले यतिबेला तल्लो भेगमा गुराँस फुल्न सुरु भइसकेको छ । लेकाली क्षेत्र भएकाले माथिल्लो भेगमा भने वैशाखको मध्यबाट मात्रै गुराँस फुल्छ । माथिल्लो क्षेत्रमा धेरै प्रजातिका गुराँस पाइनुका साथै वनक्षेत्र पनि बढी छ ।

नयाँ वर्ष अर्थात् वैशाख १ गतेको आसपास टीएमजेमा मानिसको अत्यधिक घुइँचो हुन्छ । गुराँसको सौन्दर्यपान गर्न तराईका विभिन्न जिल्लाका साथै काठमाडौँबाट समेत मानिस आउँछन् । वन, वनस्पति र गुराँसको अध्ययनका लागि विदेशी वनस्पतिविज्ञ, विद्यार्थी तथा विज्ञ पनि टीएमजे आइपुग्ने गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ ।

राष्ट्रिय लालीगुराँस संरक्षण तथा व्यवस्थापन समितिका अनुसार टीएमजे धेरै प्रजातिको गुराँस पाइने तथा नेपालकै सबैभन्दा ठूलो गुराँस वन भएको क्षेत्र हो । टीएमजेलाई चीनको चोमोलुङ्मा संरक्षण क्षेत्रसम्म विस्तार गर्ने हो भने यो विश्वकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हुने समितिको भनाइ छ ।

प्रदेश–१ को अस्थायी राजधानी विराटनगरबाट कोसी राजमार्ग हुँदै धरान, धनकुटा, वसन्तपुर, टुटेदेउरालीसम्मको स्थलमार्ग भएर पनि टीएमजे पुग्न सकिन्छ । तुम्लिङटार विमानस्थलबाट चैनपुर, मुढेशनिश्चर, टुटेदेउरालीको सडक मार्गले पनि टीएमजे पु¥याउँछ । चैनपुरबाट मादी हुँदै गएमा टीएमजे क्षेत्रकै मङ्गलबारेसम्म पनि सडक जोडिएको छ । ताप्लेजुङतर्फबाट यात्रा थाल्ने हो भने सदरमुकाम फुङ्लिङदेखि दोभान हुँदै गुफासम्म सडक यातायातको सुविधा छ । पछिल्लो समय टीएमजेको भित्री क्षेत्रसम्मै कच्ची सडक बनिसकेका छन् । ५८ सामुदायिक वन समेटिएको टीएमजेको क्षेत्रफल ५ सय ५८ वर्ग किलोमिटर छ । यो क्षेत्र पर्यटन बोर्डले सूचीकृत गरेको नेपालका उत्कृष्ट पाँच गन्तव्यमध्ये एक हो ।

यात्रामा जानेको बासका लागि चौकी, मङ्गलबारे, गुफा, गोर्जालगायतका साना बजारमा लजको व्यवस्थासमेत छ भने स्थानीय उत्पादनको खानाको स्वाद लिन सकिन्छ ।

सम्बन्धित समाचार