मेवाहाङ याखाेम्माकाे महाधिवेशन संखुवासभामा हुने



खाँदबारी । किरात मेवाहाङ याखोम्माको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन वैशाख १८ र १९ गते संखुवासभाको, चिचिला गाँउपालिका २, दिदिङ याम्दाङ गाँउमा हुने भएको छ ।

आज संखुवासभाको खादबारीमा पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराइएको हो । संस्थाका केन्द्रिय महासचिव नरेन्द्र लुम्लुमा मेवाहाङले सम्मेलनमा प्रस्तुत हुने गतिविधीहरुका बारेमा जानकारी दिएका थिए । मेवाहाङ जाती पुर्वी नेपालको संखुवासभा र भोजपुर जिल्ला बिचमा पर्ने सिलिचोङ हिमाल आसपास थातथलो रहेको किरात सभ्यता भित्रको एक छुट्टै जाती हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार मेवाहाङ भाषीको संख्या तीन हजार एक सय रहेको छ । यसको छुट्टै भाषा, छुट्टै संस्कृति, छुट्टै भुगोल, छुट्टै संस्कार, छुट्टै परमपरा, छुट्टै लिखित र अलिखित इतिहास एवम् छुट्टै सहित्य, संगित भएर पनि आदिवासी जनजातिमा सुचिकृत हुने अधिकारबाट वञ्चित भएकोले मेवाहाङ जाति सुचिकृत हुनुपर्ने संस्थाका अध्यक्ष शंकरदास मेवाहाङले बताएका छन् ।

सम्मेलनमा मेवाहाङ जातिबाट शासकिय पहुच तर्फ विभिन्न पदमा निर्वाचित १२ जना व्यक्तित्वहरुलाई सम्मान गरिने, स्नातकोत्तर तहमा  मेवाहाङ भाषा सम्बन्धी शोधपत्र (थेसिस) पुरा गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिने छ । सम्मेलन स्थलमा मेवाहाङ जातिको हाङ्शिलि , थोक्लुङ शिली, पारुहाङ शिली, चारि शिलीहरु प्रस्तुत गरिने साथै मेवाहाङ जातिको पहिचान झल्कने भेषभुषा, बाजागाजा, मेवाहाङसँग सम्बन्धीत कृतिहरु, अल्लोबाट बनेका सामाग्रीहरु र प्राचिन काल देखि मेवाहाङ जातीले उपभोग गर्दै आएका खानपानका परिकारहरुको प्रदर्शर्नी एवम् बिक्री कक्षहरु पनि रहने बताइएको छ । विभिन्न गाँउ तथा जिल्लाबाट ६० जना प्रतिनिधी, सय जना भन्दा बढी पर्यवेक्षक र झाँकी एवम शिली माक्पाहरु समेत गरी ठुलै संख्यामा भेला हुने भएका छन् । सम्मेलनमा उपस्थीत हुने दुई सय भन्दा बढी पहुनाका लागी खाने र बस्ने सम्पुर्ण तयारी पुरा भएको व्यवस्थापन समिती संयोजक विश्वरसिंह मेवाहाङले पत्रकार सम्मेलनमा जानकारी दिए । 

मेवाहाङ र नेवाहाङ एउटै जाति रहेको र सम्मेलनबाट मेवाहाङ जातीको समग्र हित एवम् विकास हुने नीती तथा कार्यक्रमहरु तय गरिने महासचिव लुम्लुमाले बताएका छन् ।

सम्बन्धित समाचार