भोटखोलामा पनि बैंकको शाखा स्थापना




संखुवासभा । जिल्लाकै अति दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालीकामा ग्लोवल आईएम ई बैंकको शाखा उद्घाटन गरिएको छ । गाउँपालीका अध्यक्ष तेम्बा भोटेले गाउँपालीकाकै पहिलो बैंकको रुपमा ग्लोवल आईएमई बैंकको शाखाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तेम्बा भोटेले दुर्गम हिमाली क्षेत्रमा हुने आर्थिक कारोबारलाई सुरक्षित गर्न बैंकले भुमिका निर्वाह गर्ने अपेक्षा राखेका थिए । भोटखोलाको हटियामा स्थापना गरिएको बैंकले त्यस क्षेत्रको बिकास निर्माण, कर्मचारी ब्यवस्थापन र नागरिकहरुको बित्तिय पहुँच तथा अन्य आर्थिक ब्यवस्थापनमा सहजता ल्याउन सहयोग गर्ने बैंकका मेनेजर गौरव त्रितालले बताउनुभयो ।

यस अघि कुनै पनि बैंक तथा बित्तिय संघसंस्था नहुँदा त्यस क्षेत्रका बासिन्दाहरु तीन दिनको पैदल यात्रा गरेर सदरमुकाम खाँदबारीसम्म आउने गर्दथे । बैंक तथा बित्तिय संस्थाको अभावमा भोटखोला गाउँपालीकाले गर्ने बिकास निर्माण लगायत अन्य आर्थिक कारोबारमा जटिल समस्या आईरहेको थियो ।

गाउँपालीका भित्र एउटै पनि बैंक नहुँदा सदरमुकाम खाँदबारीमा कार्यालय स्थापना गरेर गाउँपालीकाले गर्ने सम्पुर्ण आर्थिक कारोबार गर्न बाध्यता रहेको भोटखोला गाउँपालीका उपाध्यक्ष पान्जाम भेच्याप भोटेले बताउनुभयो । सोमबार उद्घाटन गरिएको बैंकले कर्जा, रेमिट्यान्स, भुक्तानी, निक्षेत्र संकलन लगायतका सेवा प्रवाह शुरु गरेको बैंकले जनाएको छ ।

सुचना र संचारसेवाबाट अत्यन्तै समस्यामा रहेको उक्त क्षेत्रमा बैंकले नागरिकको पुर्ण सहयोगमा सेवा सुरु गरेको बैंक मेनेजर त्रितालको भनाई छ ।

सम्बन्धित समाचार