लम्सुवाघाटः बर्षौदेखि अरुण तर्न डुङ्गाको भर



लम्सुवाघाटमा डुङ्गाबाट गाडी तार्दै । तस्विर सौजन्यः भविन कार्की

खाँदबारी । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदिमाथीको लम्सुवा घाट पुल निर्माण कार्य सुरु भएकको १० बर्ष हुन लाग्यो । निर्माण सुरु भएको यतिका लामो समय वित्दा पनि निर्माण कार्य नभएपछि भोजपुर र सङ्खुवासभाका नागरिकहरुले पाउनुसम्मको सास्ती पाएका छन् ।

करोडौको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिकहरुले डुङ्गाको साहारा लिन बाध्य छन् । भोजपुर र संखुवासभा आवतजावत गर्ने नागरिकहरु हिउँदको समयमा जोखिमपुर्ण डुङ्गाको साहारा लिनु पर्छ भने बर्षातको समयमा करिब अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ । निर्माण हुनुपर्ने समयमा पुल नबनेपछि महँगो शुल्क तिरेर सामान ढुवानी गर्न बाध्यता रहेको स्थानीय नागरिकहरु बताउछन् । यहा डुङ्गाबाट नै बहुमुल्य सामानहरु तथा निक्कै तौल भएको सामानहरु जोखिम मोलेर तार्नु परेको छ । पुल अभाव भएपछि दैनिक उपभोग्य सामानहरु, निर्माणका सामानहरु, सवारी साधन समेत डुङ्गाबाट नै तार्ने गरिएको छ ।

भोजपुरको षडानन्द नगरपालिकाका तल्लो क्षेत्रका अधिकांस वालबालिकाहरु अरुण नदि पार गरेर सङ्खुवासभाको तुम्लिङटार पढ्न आउने गरेका छन् । करिव डेढ सय विद्यार्थीहरु पनि यहि डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्ने गरेका छन् । काठबाट निर्मित डुङ्गाबाट ठुलो सङ्ख्यामा विद्यार्थीहरुले पार गर्दा दुर्घटना हुने डर उच्च भएकोले चिन्तित बन्ने गरेको अविभावकहरु बताउछन् ।

पल निर्माणमा लापरबाहि भएको भन्दै भोजपुर र सङ्खुवासभाका नागरिकहरुले स्थानीय सरकार र तुम्लिङटार सडक डिभिजन कार्यालयमा पटक पटक धर्ना सहित ज्ञापनपत्र बुझाएका छन् । पुल निर्माणको लागि सरोकारवाला निकायले कम चासो दिएको नागरिकहरुको आरोप छ । स्थानीय नागरिकहरुले पटक पटक आन्दोलन गर्दा समेत पुल निर्माण हुन सकेको छैन ।

तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि स्वच्छन्द निर्माण कम्पनीले २०६७ अषाढ २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको थियो । लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाईन परिर्वतन गरेर समय पनि थपिएको थियो । २०७० असार २५ सम्ममा काम सक्नुपर्ने भएपनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थप गरिएको थियो । यसरी थपिएको समय भित्र पनि निर्माण कम्पनीले आयोजना सम्पन्न गर्न सकेको छैन । अहिले ठेकेदार फरार भएको आरोप लगाईएको छ ।

पछिल्लो डिजाईन अनुसार ४ वटा पिलर १६ मिटर गहिराईसम्म गाडीनु पर्नेमा आधा खन्दा नै फेरी ठुला चट्टान भटिएको भन्दै पुन काम रोकिएको थियो । सोही चट्टानको कारण थप गरिएको समयमा पनि काम नभएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

१३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि पहिलो पटक सम्झौता गरिएपनि समय थप्ने क्रममा पिलरको डिजाईन परिर्वतन गरेसँगै उक्त पुलको लागत १६ करोड ६३ लाख पु¥याईएको थियो । एक सय ५७ मिटर लम्बाई रहेको सो पुलको निर्माण कार्य नहुँदा उक्त पुलसँगै जाडिने ९० मिटरको अर्को खण्डको पुलको ठेक्का लागाउन सकिएको छैन । यसरी एउटै आयोजना सम्पन्न गर्न बर्षौ लगाउँदा नागरिकहरु सेवाबाट बञ्चित त हुन्छन् नै त्योसँग जोडिएका अनेकौ विकासे आयोजनाहरु पनि प्रभावित हुँदै आएको छ ।

गोरखापत्र दैनिक

सम्बन्धित समाचार