सङ्खुवासभाको सवै स्थानीय तहमा बैंक




सङ्खुवासभा । हालै जिल्लाको सवैभन्दा विकट भोटखोला गाउँपालिकामा ग्लोबल आईएम्ई बैंकको शाखा स्थापना गरिएसँगै सङ्खुवासभाको सवै स्थानीय तहमा बैंक पुगेको छ । जिल्ला भर बैंकको शाखा स्थापना भएसँगै आर्थिक कारोबार समेत हुन थालेको छ ।

जिल्लाको खाँदबारी र चैनपुर नगरपालिकामा पर्याप्त संख्यामा बैंकहरु स्थापना गरिएपनि दुर्गम गाउँहरुमा स्थापना हुन सकेको थिएन । राज्यको पुर्नसंरचनापछि गाउँ गाउँमा बैंक स्थापना गरिएको हो । राज्यले सवै स्थानीय तहमा बैंकको स्थापना गर्नु पर्ने बाध्यकारी निति ल्याएपछि दुर्गम बस्तीहरुमा पनि बैंकको शाखा स्थापना गरिएको हो ।

यो ब्यवस्थापछि पाँचखपन नगरपालिकामा नेपाल बंगलादेश बैंक, सभापोखरी गाउँपालिकामा प्राईम बैंक र धर्मदेवी नगरपालिकामा एसविआई बैंकले शाखा स्थापना गरेको छ । त्यस्तै चिचिला गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंक, मकालु गाउँपालिकामा सिद्धार्थ बैंक, सिलिचोङ गाउँपालिकामा एभरेष्ट बैंक र भोटखोला गाउँपालिकामा ग्लोबल आईएम्ई बैंकको स्थापना गरिएको हो ।

बैंकको शाखा सञ्चालन भएसँगै नागरिक तथा सेवाग्राहीहरु उत्साहित भएका छन् । स्थानीय तहमा बैंक नहुँदा विकासे योजनाको खाता सञ्चालन गर्न, कार्यालयको आर्थिक ब्यवस्थापन गर्न लगायतका समस्याहरु थिए । विभिन्न कारोबारको लागि सदरमुकाम धाउनु पर्दा समयसँगै रकम समेत खर्चिने गरेको थियो ।

तर अव ति समस्याहरु समाधान भएको उपभोक्ता समितिहरुको दावी छ । ‘यस अघिसम्म विकासे आयोजनाको खाता खोल्न सदरमुकाम खाँदबारी पुग्नु पथ्र्यो, अब गाउँमै हुने भो’, एक आयोजनाका अध्यक्ष पवन कुलुङले भन्नुभयो । बैंकको शाखा प्रत्येक स्थानीय तहमा नै सञ्चालनमा आएपछि कार्यालयको कारोबारमा पनि सहजता आउने सिलिचोङ गाउँपालिकाका लेखापाल किर्तिराज कार्कीको भनाई छ ।

यसै विच, बैंकका कर्मचारीहरुले भने आफुहरु उत्साहित भएपनि सञ्चारमा असुविधा भएको कारण सेवा प्रबाहमा चुनौती रहेको बताएका छन् । विशेष गरि दुर्गम क्षेत्रमा ईमेल ईन्टरनेटको सुविधा नभएको कारण सर्भर सञ्चालनमा समस्या रहेको उनीहरुले बताउने गरेका छन् । द्रुत गतिको ईमेल ईन्टरनेट नहुँदा काराबारमा समस्या रहेको एभरेष्ट बैंक सिलिचोङ शाखाका प्रबन्धक बिवेक कार्कीले बताउनुभयो । ‘स्थानीय तहका सवै कारोबार सञ्चालन गर्ने गरि बैंक स्थापना गरिएपनि सञ्चारमा समस्या आउदा चुस्त सेवा दिन गाह्रो भईरहेको छ’, कार्कीले भन्नुभयो । सञ्चार सुविधाको लागि आफुहरुले छुट्टै प्रविधिको प्रयोग गर्न लागेको समेत उहाँको भनाई छ ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार