खानेपानीको समस्यापछि बसाई सर्ने क्रम तिब्र



सङ्खुवासभा । जिल्लाको विभिन्न स्थानमा खानेपानीको चरम अभाव भए पछि बसाई सर्ने क्रम तिब्र भएको छ । खानेपानीको हाहाकार भएपछि सङ्खुवासभाका तीन स्थानीय तहमा मात्र ४५ घर परिवारले गाँउ छाडेका हुन् ।

खानेपानी अभावकै कारण चैनपुर नगरपालिकामा १०, धर्मदेवी नगरपालिकामा २५ र पाँचखपन नगरपालिमा १० घरपरिवार बसाईसरेका छन् । धर्मदेवि नगरपालिकाको दुई वटा वडाबाट मात्र २५ घर परिवार खानेपानी अभावकै कारण बसाई सर्न बाध्य भएका हुन्् । ७ नम्बर वडाबाट १५ घर बसाई सरेको वडा अध्यक्ष भोलामान श्रेष्ठले बताउनुभयो । उक्त वडाको कुवापानी, आहाले, मालवासे लगायता गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाई सर्न बाध्य भएको बताईएको छ । ८ नम्बर वडाबाट पनि दुई वर्षमा १० घर परिवार वसाई सरेर गएका छन् ।

सुख्खा याममा नगरपालिकाको विभिन्न स्थानमा खानेपनीको अभाव बर्षौदेखि झेल्दै आएकोले वडा नम्बर ७ र ८ मा डिप वोरिङबाट पानी निकाल्न आफुहरु लागिपरेको नगर प्रमुख रमेश जिमीले जानकारी दिनुभयो । खानेपानी समस्याको समाधानकै लागि चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम भईरहेको जिमीले बताउनुभयो । यस अघि काकाकुल बनेका नागरिकहरुको समस्याको समाधान निकट भविश्यमै हुने प्रमुख जिमीको दावी छ ।

पाँचखपन नगरपालिकाको लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले लगायतका गाउँमा पनि खानेपानीको चरम अभाब रहेको छ । पाँचखपनको ४, ५, ६, ७ र ८ नम्बर वडाहरुमा पनि खानेपानी अभाबकै कारण बसाई सर्दै आएका छन् । यस बर्ष मात्रै पाँचखपन–४ खानीगाउँका गंगाबहादुर विश्वकर्मा, गोपाल विश्वकर्मा, चन्द्र श्रेष्ठ, गणेश विश्वकर्मा, भीम श्रेष्ठ, गंगा श्रेष्ठलगायत १० परिवार बसाइँ हिँडेका छन् ।

चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ । चैनपुरको ११ नम्बर वडाबाट २ वर्षमा ८ घरपरिवार तराई वसाईसरेको वडा अध्यक्ष धर्मराज चौहानले जानकारी दिनुभयो । त्यस्तै, सभापोखरी गाउँपालिकाको १ नम्बर वडामा पनि खानेपानीको अभाव उस्तै छ । यस वडामा तीन सय घर परिवारमा खानेपानीको अभाव छ ।

जिल्लाको जेठो खाँदबारी नगरपालिकामा पनि पानीकोे अभाव उस्तै रहेको छ । ३ हजार ५ सय घरपरिवारलाई पानी वितरण गर्ने भन्दै खाँदबारी वृृहत खानेपानी आयोजना सञ्चालन गरिएपनि सफल हुन सकेको छैन । मांसिमाबाट पानी ल्याउन सुरु गरेपनि पर्याप्त पानीको आपुर्ती नहुँदा बजारवासी मारमा परेका छन् ।

जिल्लाको विभिन्न स्थानमा पानीको चरम अभाव हुँदा जनप्रतिनीधीहरु त्यस्को समाधानमा लागि परेको दावी गर्दै आएका छन् । अधिकांस क्षेत्रमा पानीको मुहान अभावका कारण खानेपानीको ब्यवस्था गर्न नसकिएको जनप्रतिनिधीहरु बताउछन् । मुहान नभएपछि अरुण नदिको पानी लिफ्टिङ गरेर ल्याउने वा डिप बोरिङ मध्ये एक उपायको खोजीमा लागिपरेका छन् ।

सम्बन्धित समाचार