सङ्खुवासभामा एचआईभी संक्रमितको संख्या बढ्दो




सङ्खुवासभा । पछिल्लो समय सङ्खुवासभामा एचआईभी संक्रमितको संख्या बढेको छ । चार बर्षअघि २२ जना एचआईभी संक्रमितको संख्या रहेकोमा हाल बढेर ३८ जना पुगेको हो ।

जिल्ला अस्पतालको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ मा संक्रमितको संख्या २२ रहेको थियो । उक्त संख्या बढेर आर्थिक बर्ष ०७३/७४ मा २५ जना पुगेको थियो । फेरी ०७४/७५ मा पनि उक्त संख्या बढेर ३० पुगेको थियो । संक्रमितहरुको संख्या बढ्ने क्रममा यस आर्थिक बर्षमा ३८ जना पुगेको एन्टी रेट्रोभाईरल थेरापी (एआरटी) सेन्टर सङ्खुवासभाले जनाएको छ ।

उक्त संख्यामा रहेका संक्रमितहरुले हाल नियमित रुपमा औषधी सेवन गरिरहेको जिल्ला अस्पताल खाँदबारी एचआईभी कार्यक्रमका फोकल पर्सन रोसन श्रेष्ठले जानकारी दिनुभयो । ३८ मध्ये २ जनाले जिल्ला बाहिरबाट औषधी लिईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा अझै एचआईभी संक्रमितहरु रहेको हुनसक्ने श्रेष्ठको दावी छ । कतिपयलाई आफु संक्रमित रहेको समेत थाहा नपाएको र कतिपयलाई सामाजिक बहिस्कारको डरले सम्पर्कमा नआएको हुनसक्ने श्रेष्ठले बताउनुभयो । तर आफुहरुलाई संका लागेकाहरुलाई एआरटी सेन्टरको पहँचमा ल्याउने काममा लागिपरेको समेत उहाँले जानकारी दिनुभयो ।

संका लागेकालाई कुनै न कुनै बहनामा सम्पर्कमा ल्याई परामर्श गर्ने र परिक्षण पश्चात पनि प्रभावकारी परामर्श पछि मात्र रिपोर्ट दिने गरेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । परिक्षण पश्चात संक्रमित पाईए अर्को संक्रमितको माध्ययमबाट परामर्श गरिदै आएको उहाँले बताउनुभयो । ‘संक्रमितलाई अर्को संक्रमितले परामर्श दिए प्रभावकारी हुन्छ, होईन भने आत्तिएर जे पनि गर्न सक्ने अवस्था आउन सक्छ’, श्रेष्ठले भन्नुभयो । कोही आफै एचआईभी परिक्षण गर्न आए अस्पतालले निशुल्क परिक्षण गरिदिने ब्यवस्था मिलाएको समेत उहाँले जानकारी दिनुभयो ।

संक्रमित आमाबाट बच्चामा एचआईभी नसर्नको लागि गर्भवती परिक्षणकै क्रममा अस्पतालले निशुल्क एचआईभी परिक्षण गर्दै आएको छ । गर्भ अवस्थाबाट नै बच्चालाई सुरक्षित राख्न सके स्वास्थ बच्चा जन्माउन सकिने भएकोले गर्भवती आमाको अनिबार्य परिक्षण गरिदै आएको बताईएको छ । पछिल्लो समय यसरी परिक्षण गर्ने क्रममा दुई गर्भवती संक्रमित पाएपछि औषधी सेवन गराएर सकुशल बच्चा जन्माउन सकिएको एचआईभी फोकल पर्सन रोसन श्रेष्ठले जानकारी दिनुभयो । आमा संक्रमित पाईएसँगै श्रीमान पनि संक्रमित पाईएपछि हाल नियमित औषधी सेवन गरिरहेको उहाँले जानकारी दिनुभयो । बेलैबाट नियमित औषधी सेवन गरे एचआईभी संक्रमितहरु पनि अन्य मानिसहरु सरहनै बाँच्न सक्ने श्रेष्ठले बताउनुभयो ।

गोरखापत्रबाट

सम्बन्धित समाचार