‘काँडे भ्याकुरको शुभविवाह’ को चर्चा परिचर्चा




संखुवासभा । साहित्यकार ताराबहादुर बुढाथोकीको लोक कथासंग्रह काँडे भ्याकुरको शुभ विवाहको चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं संखुवासभाको आयोजनामा चर्चा परिचर्चा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

पुस्तकमा संखुवासभाका पर्यटकिय ठाउँहरु तथा संखुवासभामा पाइने विभिन्न प्राकृतिक तथा सस्कृतिक सम्पदाहरुलाई चिनाउन खोजिएको लेखक तारा वहादुर बुढाथोकीले बताउनुभयो । काँडेभ्याकुरको शुभबिवाह लोककथा संग्रह भित्र हिक्मत बहादुर, मान्छेकी छोरी,आमाको देब्रे आँखो, सुनको थाल लगायत १५ वटा लोककथा संग्रहित छ । लोककथामा नेपालको हिमाल, पहाड र तराईमा पाईने जैबिक बिबिधता प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको महत्व उजागर गरिएको छ ।

पुस्तकमा काँडे भ्याकुर, रातो पाण्डा, गरुड, कस्तुरी, हिउँभालु लगायतलाई पात्र बनाइएको छ । पात्रहरूले बेहुली लिन जाँदा र ल्याउँदा देशैभरका सांस्कृतिक र धार्मिक महत्वका पर्यटकीय स्थलहरूको परिक्रमा गर्छन् । यसरी हेर्दा यो कथाले पूर्वसँग पश्चिमलाई र हिमालसँग तराईलाई जोडेको छ । लेखकले काँडे भ्याकुरको लागि उपयुक्त बेहुली अरुण उपत्यकामा नभेट्नु नै यसको लोप हुनु हो भनेर सङ्केत गरेका छन् भने रातो पाण्डालाई लोकन्ती बनाउनुमा पनि त्यसकै सङ्केत रहेको लेखक बताउँछन् ।

पुस्तकमा अरुण उपत्यकाका चराहरूको वर्णन, सङ्खुवासभाको सांस्कृतिक वर्णन, सांस्कृतिक पोखरी र तीर्थस्थलहरूको वर्णन गरिएको छ । झण्डै १ सय पात्रहरूको प्रयोग गरिएको छ । यसमा सङ्खुवासभासहित कर्णाली र राराको सुन्दरता बयान गरिएको लेखकले बताउनुभयो ।

परिचर्चा कार्यक्रममा साहित्यकार कृष्णवहादुर चापागाई, पत्रकार नविन गुरुङ र साहित्यकार डा. मातृका तिमल्सीना लगायतका बक्ताहरुले पुस्तकको बारेमा आफना भनाई राख्नुभएको थियो । पत्रकार महासंघका कार्यवहाक अध्यक्ष गगा विष्टको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्व विद्यालय प्राज्ञ परिषदका सदस्य टिकाराम गुरुङ प्रमुख अतिथि रहनु भएको थियो ।

सम्बन्धित समाचार