घोपा क्याम्पमा ‘चोर’को विगबिगी



धरान । गएको सोमबार राती विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक विरामी कुरुवाको दुई वटा मोबाईल बिरामीको सिरानीबाटै हरायो । फेरी भोली पल्ट नै अर्को कुरुवाको पनि उसै गरि चार्ज गर्न राखेको ठाउँबाट नै मोबाईल गायब भयो ।

यो घटना सोमबार र मंगलबारको मात्र होईन । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) मा हुने दैनिक चोरीको सानो उदाहरण मात्र हो । यहाँ दैनिक जसो विरामी र कुरुवाको केही न केही सामान हराउने गरेको छ । अस्पतालको वार्ड र कम्पाउण्डबाट चप्पलदेखि सुनसम्म हराएको घटना छ । लामो समयदेखि नै सामान हराउदै जानु र चोरी नियन्त्रणमा नआउनुले अस्पतालमा चोरीको घटना सामान्य जस्तै बन्न थालेको छ ।

टाढाबाट सिमित खर्च लिएर उपचार गर्न आएकाहरु चोरीको सिकार बन्नुपर्दा समस्याहरु झेल्नु परेको छ । खोटाङबाट बुवालाई उपचार गर्न आउनुभएका मिनबहादुर राईले आफ्नो झोलाबाट बीस हजार रुपैयाँ हराएपछि उपचारमा निक्कै समस्या परेको सुनाउनुभयो । सामान हराएपछि कतै पनि उजुरी दिन सहज नभएको र उजुरी दिएपनि सामान खोजी नहुने पिडितहरुको गुनासो छ । आफुले उजुरी दिन चाहे पनि कहाँ र कसरी उजुरी दिने भन्ने थाहा नहुँदा चुप लागेर बस्नु परेको मोबाईल चोरीका पिडित सिराहा गोलबजारका हरेराम मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी कार्यालयमा उजुरी दिन जाने त भन्छन्, कहाँ र कसरी जाने थाहा भएन ।’ ‘उजुरी दिएपनि सामान फिर्ता आउदैन भन्छन्, अरु दुख मात्र पाईन्छ’, उहाँले थप्नुभयो ।

विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चोरीबाट बिरामी तथा कुरुवाहरु आजित छन् । पटक पटक चोरी हुनु र चोरीमा संलग्नहरु पत्ता लगाउन नसक्नुले सुरक्षा ब्यवस्थामा प्रश्न उठाउन थालिएको छ । अस्पतालमा सेक्युरिटी गार्ड र प्रहरीहरुले सुरक्षा दिदै आएपनि सुरक्षा ब्यवस्था निक्कै कमजोर रहेको पिडितहरु बताउछन् । अस्पताल सुरक्षाको लागि केटिएम् सेक्युरिटी सर्भिसले जिम्मा लिएको छ । त्यस्तै, अस्थायी प्रहरी पोष्ट पनि राखिएको छ ।

अस्पताल भित्र नै प्रहरी पोष्टको ब्यवस्था गरिएपनि प्रहरीको संख्या ज्यादै न्युन भएकोले सुरक्षा ब्यवस्था कमजोर हुन गएको घोपा क्याम्प प्रहरी पोष्टका ईञ्चार्ज सई दुर्गा पराजुलीले बताउनुभयो । निक्कै ठुलो क्षेत्रफलमा रहेको अस्पतालको लागि पाँच जना मात्र प्रहरी कर्मचारी रहेकोले प्रहरीको तर्फबाट सुरक्षा प्रदान गर्न असहज भएको उहाँको भनाई छ । प्रहरीमा जनशक्ति बृद्धि गरिए अस्पतालको सुरक्षामा सुधार आउने उहाँको दावी छ । प्रहरी पोष्टका ईञ्चार्ज पराजुलीले भन्नुभयो, ‘यत्ति थोरै जनशक्ति सवारी साधनको ब्यवस्थापनमा लाग्नु की, भिड नियन्त्रणमा लाग्नु की, चोरी नियन्त्रण गर्नु ?’ यद्धपी पछिल्लो समय चोरीका घटना न्युन हुँदै आएएको उहाँले दावी गर्नुभयो ।

यता अस्पतालको सुरक्षाको जिम्मा लिएका केटिएम् सेक्युटि सर्भिसका सुरक्षाकर्मीहरु पनि चोरीका घटना रोक्ने प्रयास गर्दै आएको बताउछन् । अस्पतालको परिषर नै ठुलो भएकोले विरामी, कुरुवा र भेट्न आउनेहरुको संख्या अधिक हुँदा चोरीको घटना न्युनिकरण गर्न समस्या भएको उनीहरु बताउछन् । ‘को विरामीको मान्छे हो, को चोर्ने नियतले आएका हुन् चिन्नै गाह्रो हुन्छ’, सर्जिकल वार्डमा खटिएका एक सुरक्षा गार्डले भन्नुभयो । सुरक्षाका लागि सवै क्षेत्रमा सिसि क्यामेरा जडान गरे केही हदसम्म चोरी नियन्त्रणमा आउने सुरक्षा गार्डहरु बताउछन् ।

सम्बन्धित समाचार