महिला कबड्डीको उपाधी मोरङले जित्यो, झापा उपविजेतामा सिमित




सङ्खुवासभा । सङ्खुवासभामा सम्पन्न भएको प्रदेश स्तरिय अन्तर जिल्ला महिला कबड्डी प्रतियोगिताको उपाधी मोरङले जितेको छ । सनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा झापालाई पराजित गर्दै मोरङ विजेता बनेको हो ।

फाईनल खेलमा पराजित भएसँगै झापा उपविजेतामा सिमित बनेको थियो । सेमि फाईनल खेलमा मोरङले उदयपुरलाई हराएर फाईनल चरणमा प्रवेश गरेको थियो भने झापाले संखुवासभालाई पराजित गरेको थियो । विजेता बनेका मोरङले नगद एक लाख रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता झापाले नगद पचास हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ठ खेलाडी झापाका अन्जली शाह घोषित भएका छन् । त्यस्तै, उत्कृष्ठ बोनसमा सङ्खुवासभाका अस्मीता राई, उत्कृष्ठ क्याचरमा मोरङका प्रियंका यादव, उत्कृष्ठ डिफेन्डरमा सङ्खुवासभाका प्रतिक्षा श्रेष्ठ र निर्मला तामाङ घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ठ डिफेन्समा झापाका बर्षा राजबंशी पुरस्कृत भएका छन् । उनीहरुले जनही नगद पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

जेठ मंगलबारबाट सुरु भएको प्रतियोगिता सनिबार सम्पन्न भएको हो । प्रतियोगितामा खोटाङ बाहेक प्रदेश एकका १३ जिल्लाको सहभागीता रहेको थियो । प्रतियोगिता प्रदेश एक सरकारको आर्थिक र प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको थियो ।

सम्बन्धित समाचार