विद्यार्थीहरुमा अनौठो समस्या देखिएपछि चिकित्सकको टोली विद्यालयमा




सङ्खुवासभा, जेठ २० गते । महिना दिनदेखि विद्यार्थीमा देखिएको अनौठो समस्याको समाधान नभएपछि चिकित्सकहरुको टोली विद्यालय पुगेका छन् । सिलिचोङ गाउँपालिका वडा नम्बर २ बालामा रहेको हिमाल ज्योति आधारभुत विद्यालयमा चिकित्सकको टोली पुगेको हो ।

एक महिना अघिदेखि विद्यार्थीहरुमा मुर्छा पर्ने, रुने, काम्ने, कराउने जस्ता समस्या देखिएको थियो । लामो समयसम्म पनि यो समस्या नहटेपछि ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको टोली विद्यालयमा नै उपचार गर्न पुगेका हुन् । विद्यार्थीहरुको अवस्थाको अध्ययन पश्चात उनीहरुमा ‘फ्याक्टीस्टेस डिस्अर्डर’ भएको डाक्टर रुपेश कर्णले बताउनुभएको छ । उनीहरुमा कुनै ठुलो समस्या नरहेकोले आत्तिनु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । डा. कर्णका अनुसार, बनावटी अभिनय वा कुनै भ्रममा रहेर विभिन्न कृयाकलाप गर्नुलाई फ्क्टीस्टेस डिस्अर्डर भनिन्छ । जुन ब्यक्तिले जस्तो कृयाकलाप गरेपनि मानसिक सन्तुलन गुमाएको हुँदैन ।

यहाँका विद्यार्थीहरुले पनि सोही कृयाकलाप मात्र गरिरहेको डाक्टर कर्णले दावी गर्नुभयो । बिरामी भनिएका विद्यार्थीहरुको खानपान र अन्य स्वास्थ्य अवस्था पनि सामान्य पाईएको उहाँले बताउनुभयो । यद्धपी उनीहरुलाई सकारात्मक परामर्शको भने आवश्यकता रहेको डा. कर्णले बताउनुभयो । यसरी बिरामी भनिएका विद्यार्थीहरुलाई तीन दिनसम्म विद्यालय आउन नदिने विद्यालयलाई सल्लाह दिएका छन् । उनीहरुको मनोबल बृद्धिका लागि केही औषधी समेत वितरण गरिएको डा. कर्णले बताउनुभयो ।

हालसम्म विद्यालयमा १४ विद्यार्थीहरुमा यस्तो समस्या देखिएको प्रधानाध्यापक गंगाराज राईले बताउनुभयो । विद्यालय नजिकै देवीको उत्पती हुन लागेको र बेलैमा उक्त देवी निकाल्न नसके थप अनिष्ट हुने धामीहरुले दावी गरेपछि विद्यालयमै धामी समेत राखिएको थियो । उक्त धामीले विद्यालय भन्दा केही तल देवीको उत्पती गराएपनि विद्यार्थीहरुमा देखिएको समस्या नटरेको बताउनुभयो । यसरी बिरामी बनेका विद्यार्थीहरु विद्यालय नआउन् भनेपनि आउने गरेको प्रधानाध्यापक राईले भन्नुभयो । घरमा त्यस्तो कृयाकलाप नदेखाएपनि विद्यालय आएपछि बल्झिने गरेको उहाँले जानकारी दिनुभयो । चिकित्सकहरुको सल्लाहपछि विद्यार्थीमा देखिएको समस्या समाधान हुने प्रधानाध्यापक राईले विश्वास ब्यक्त गर्नुभयो ।

किकित्सक सहितको टोलीमा गाउँपालिका उपाध्यक्ष लालकुमारी कुलुङ, वडा नं. २ का अध्यक्ष मोहन संशेर कुलुङ, कार्यपालिका सदस्य मेनुका राई, गाउँपालिका स्वास्थ्य संयोजक दिपेश कुलुङ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार