संखुवासभाको तुम्लिङटारमा भेटियो दुर्लभ सालक



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको चिलाउनेमा दुर्लभ सालक भेटिएको छ । गाउँ छेउमा नै भेटिएको दुर्लभ सालकलाई मंगलबार जंगलमा नै पुनः छोडिएको छ ।

स्थानीय गाउले, जनप्रतिनिधि र डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीलगायतको रोहवरमा मुचुल्का उठाएर जंगलमा नै छोडिएको तुम्लिङटारका सालक संरक्षणसम्बन्धी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण तथा युवा जागरण समितिका सदस्य गणेश तामाङले बताउनुभयो । उहाँको अनुसार, यो सालक करिब डेढ केजीको रहेको र करिब ५र६ महिनाको मात्रै रहेको डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीले बताएका थिए ।

सालक सोमबार दिउँसो करिब १२ बजे तिर स्थानीय शंकर राईले घर छेउमा नै सालक देखेपछि समात्नुभएको थियो । घर नजिकै ठूलो सालघारीको जंगल रहेकाले आहाराको खोजी गर्दै बारीमा आएपछि स्थानीय राईले सालक समात्नुभएको थियो । दुर्लभ सालक भेटिएपछि हेर्नेहरुको भीड लागेको थियो । त्यसपछि स्थानीयहरुले डिभिजन वन कार्यालय खाँदबारीमा खबर गरेपछि बन कार्यालय कर्मचारीहरु त्यहाँ पुगेका थिए ।

तुम्लिङटारमा रहेको मनकामना सामुदायिक वनमा केही वर्ष अगाडिदेखि सालक संरक्षण कार्यक्रम लागू भएको छ । यो कार्यक्रम लागूभएपछि मनकामना सामुदायिक वनमा सालकको संख्या धेरै नै बढेको स्थानीयहरुको अनुमान छ ।

बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीसिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ । संखुवासभाको खाँदबारी नगरपालिका भित्रका तुम्लिङटार, रातमाटे, पिप्ले, सेकाहामा समेत पाइने गर्दछ । त्यसका साथै चैनपुर नगरपालिका अन्तर्गत खराङ, लोहाकोट लगायत ठाउहरुमा सालकहरु पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन ऐन अन्तर्गत सालकको चोरी सिकारी र सालकको पखडा बेचबिखन गर्नेलाई दुई वर्ष कैददेखि २५ हजार रुपैयाँ र त्योमाथि कसुर अनुसार कारबाही र जरिवाना गर्ने नियम रहेको छ ।

सम्बन्धित समाचार