बृद्धभत्ता विद्यार्थीलाई छात्रबृत्ति



सङ्खुवासभा । उमेर ढल्केका धेरैको लागि सरकारले दिदै आएको बृद्धभत्ता बुढेसकालको साहारा बन्दै आएको छ । तर सभापोखरी गाउँपालिका ६ बाह्रविसेका दुई बृद्धाहरुले भने दुई विद्यार्थीहरुको पढाईमा खर्च गर्दै आएका छन् ।

बाह्रविसेका ८० बर्षिय जीवनकुमारी कालाखेती र ७० बर्षिय जानुका कालाखेतीले उनीहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ताले स्थानीय त्रिवेणी माध्यमिक विद्यालयमा छात्रबृत्ति कोष स्थापना गरिदिएका हुन् । दुवै कालाखेती स्वर्गीय भैरबप्रसाद कालाखेतीका धर्मपत्नीहरु हुनुहुन्छ । उहाँहरुले २०७० सालदेखि यताको सवै सामाजिक सुरक्षा भत्ता नियमित रुपमा कोषमा जम्मा गर्दै आउनुभएको छ । कालाखेती द्वयद्वारा स्थापित छात्रबृत्ति कोषमा जम्मा भएको रकमको ब्याजबाट त्रिबेणी माविमा ६ देखि १० कक्षासम्म अध्ययनरत सर्वोत्कृष्ठ अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रबृत्ति प्रदान गरिदै आएको प्रधानाध्यापक गोविन्द बाह्रकोटीले जानकारी दिनुभयो ।

पाँच बर्षअघि दश हजार रुपैयाँबाट सुरु गरिएको कोषमा हाल एक लाख ४० हजार रुपैयाँ जम्मा भईसकेको विद्यालयका प्रधानाध्यापक बाह्रकोटीले जानकारी दिनुभयो । यो रकम बर्षेनी बढ्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । यस आर्थिक बर्षबाट सामाजिक सुरक्षा भत्ता समेत बृद्धि भएकोले अक्षकोषको रकमसमेत बृद्धि हुने अपेक्षा गरिएको छ । अक्षकोषको मुलधन धेरै हुँदा ब्याजसमेत बढि नै आउने हुँदा विद्यार्थीहरुलाई ठुलो राहत मिल्ने बाह्रकोटीको दावी छ । ‘उहाँहरुको दिर्घ जीवनले कोषको आकार बृद्धि हुदै जान्छ, हामी त उहाँहरुको लामो आयुको कामना गर्दै आएका छौं’, प्रधानाध्यापक बाह्रकोटीले भन्नुभयो ।

विद्यालय जान नपाएका दुवै कालाखेतीले गरिव तथा जेहेन्दा विद्यार्थीहरुलाई पढाई खर्चमा सहजता मिलोस भनेर छात्रबृत्ति कोष खडा गरेको बताउछन् । आफुहरुले अक्षर चिन्न नपाएपनि अहिलेका बालबालिकाहरु राम्रो पढुन् भनेर हौसलाका लागि आफुहरुले पाउने भत्ता नलिएको बताएका छन् । ‘हामीले पाउने भत्ताले राम्रा विद्यार्थीलाई सहयोग मिल्छ भने त्यसैमा खुसी हुन्छौं’, कालाखेती द्वयले भन्नुभयो ।

कालाखेती परिवारका सवै सदस्यहरु विद्यालयका दाताहरु हुन् । स्वर्गीय भैरबप्रसाद कालाखेती (अक्षकोष संस्थापकहरुका श्रीमान) त्रिवेणी माविका जग्गादाता हुन् । उहाँका छोरा यज्ञमणी कालाखेती सो विद्यालयका पुर्व प्रधानाध्यापक हुन् । छोरा यज्ञमणीले स्वर्गीय बुवा भैरवप्रसादको नाममा समेत छात्रबृत्ति कोष स्थापना गरिदिनुभएको छ ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार