यार्सा टिप्नेको संख्या बढ्यो




सङ्खुवासभा । यस बर्ष सङ्खुवासभामा यार्सागुम्बा सङ्कलन गर्नेको संख्या बढेको छ । अघिल्लो बर्ष एक सय १७ जनाले संकलन पुर्जी लिएकोमा यस बर्ष भने पुर्जी खुलेको एक हप्तामै एक सय २० जनाले पुर्जी लिईसकेका छन् ।

मकालु बरुण राष्ट्रिय निकुञ्जले यस बर्षको लागि जेठ १५ देखि पुर्जी खुलाएको थियो । निकुञ्जले यस बर्ष १२ मध्यवर्ती क्षेत्र उपभोक्त समितिलाई पुर्जी वितरणको लागि जिम्मेवारी दिएको थियो । समितिले अहिले पनि पुर्जी वितरणको काम जारी राखेको छ । यस बर्ष असार १३ गतेसम्म यार्सा संकलन गर्न दिईएको मकालु बरुण राष्ट्रिय निकुञ्जका रेञ्जर लाकपद कुलुङले जानकारी दिनुभयो । संकलन पुर्जी खुलेदेखि नै पुर्जी लिनेहरु बढीरहेको उहाँले जानकारी दिनुभयो । संकलन गर्न पाउने अवधीको एक हप्ताअघिसम्म नै पुर्जी लिनेहरु आईरहने भएकोले यस बर्ष करिब हजार भन्दा बढीले यार्सा संकलनको पुर्जी लिने कुलुङले दावी गर्नुभयो ।

यस बर्ष मकालु बरुण राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्रका संकलकहरुबाट प्रतिब्यक्ति एक हजार, जिल्ला भित्रकाबाट दुई हजार र जिल्ला बाहिरका संकलकहरुबाट तीन हजार रुपैयाँ शुल्क लिएको छ । उक्त शुल्क मध्यबाट आधा रकम सम्बन्धीत मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले राख्ने बताईएको छ । निकुञ्जले यस बर्ष सोलुखुम्बुका २ र सङ्खुवासभाका १० वटा उपभोक्ताहरुलाई पुर्जी वितरणको जिम्मा दिएको हो । सोलुखुम्बुबाट महाकुलुङ र छेस्काम उपभोक्ता समितिलाई जिम्मा दिईएको हो । त्यस्तै, सङ्खुवासभाका किमाथाङ्का, चेपुवा, अरुणबरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, मांतेवा, बाला र सिसुवा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई पुर्जी वितरणको जिम्मा दिईएको हो ।

संकलन पुर्जी लिएकाहरु अधिकांस यार्सा क्षेत्रमा पुगेर संकलन गर्न थालेका छन् । ६ देखि ८ जनाको समुह बनाएर यार्सा क्षेत्र पुगेका उनीहरुले सङ्खुवा खोलाको मुहान क्षेत्र, दिक्लिङ, डोँडे लगायतका क्षेत्रहरुमा यार्सा सङ्कलन गर्न थालेको बताईएको छ । यार्सागुम्बा संकलन गर्न केही बेलैमा पुगेपनि अपेक्षा गरिए जस्तो यस बर्ष पनि नउम्रेको यार्सा संकलकहरु बताउछन् । संकलनकोे पुर्जी खुल्ला भएलगत्तै यार्सा क्षेत्रमा पुग्नेहरु अहिले फर्कन थालेका छन् । आफुहरु छिटो पुगेको र पछुवा उम्रिने यार्सा पर्खन नसक्ने भएकोले आफुहरु फर्केको सिलिचोङ गाउँपालिका ३ ताम्कुका अम्बर राईले बताउनुभयो ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज भित्र पर्ने सङ्खुवा सिर, नौलेक, दिक्लिङ लगायतका क्षेत्रहरुमा यार्सागुम्बा पाईन्छ । पाँच हजार मिटर वरिपरीको उचाई रहेको यस क्षेत्रमा पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्छ । यस क्षेत्र उच्च हिमाली भाग रहेकोले ‘हाई’ लागेर धेरैले ज्यान समेत गुमाएका छन् ।

सम्बन्धित समाचार