धर्मगुरु पक्राउको विरोधमा ज्ञापनपत्र



ज्ञापनपत्र बुझाउनुहुँदै जनजाती महासंघ सङ्खुवासभाका सचिव विपिन तामाङ ।

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोलामा रहेको याङ्गुठी गुम्बाका धर्मगुरु कर्मा लामालाई मकालु बरुण राष्ट्रिय निकुञ्जले पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालय खाँदबारीमा ज्ञापन पत्र बुझाईएको छ । शुक्रबार आदिवासी जनजाती महासंघ लगायत जिल्लाका चौंध जातिय संस्थाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गुम्बाका प्रमुख लामालाई यहि जेठ २० गते जिल्ला सदरमुकाम खाँदबारी आउने क्रममा ईलाका प्रहरी कार्यालय गडीमा प्रहरी र राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले पक्राउ गरेका थिए । लामाको झोला खानतलासी गर्दा अबैध वन्यजन्तुहरुका अंगहरु भटिएपछि पक्राउ गरेका थिए । लामा पक्राउ परेपछि राष्ट्रिय निकुञ्जले जिल्ला अदालत चैनपुरलाई बुझाएको थियो ।

ज्ञापनपत्र वाचन गर्नुहुँदै जनजाती महासंघ सङ्खुवासभाका सचिव विपिन तामाङ ।

गृह मन्त्रालयलाई पठाएको ज्ञापनपत्रमा धार्मिक कार्यमा बर्षौदेखि प्रयोग गरिदै आएको मरेको पशुपंक्षीको छाला, रौं, हड्डी र ओखती जन्य बनस्पतीहरु भेटिएकै आधारमा पक्राउ गरेर थुनामा पठाउनु संविधान विपरित कार्य भएको उल्लेख गरिएको छ । पशुपंक्षी मरेपछि जन्तर बनाउन प्रयोग गरिदै आएको भएपनि त्यसको वास्तविकता समेत अध्ययन नगरि ठुलो अपराधीको शैलीमा पक्राउ गरेर बदनाम गर्नुले जिल्लाका सम्पुर्ण आदिवासी जनजातीरुको आस्थामा चोट पुगेको बताईएको छ । बौद्ध धर्मको सिद्धान्त अनुसार घरपालुवा प्राणी समेत काटमार नगरिने सवैलाई थाहा हुँदाहुँदै नियोजित तरिकाले धर्मगुरु लामालाई पक्राउ गर्नुले राज्य ब्यवस्था अझै एकात्मक र विभेदपुर्ण रहेको बताईएको छ ।

लामाले तस्करको रुपमा नभई धार्मिक प्रयोजनको लागि बन्यजन्तुका सानो अंश बोक्ने गरेकोले कारबाहिको दायरामा ल्याउन अनुचित रहेको जातिय संस्थाहरुको दावी छ । यस्ता धार्मिक कार्यमा सवै जातजातीले बन्यजन्तुको अंगको अंश नै प्रयोग गर्दै आएको उल्लेख गर्दै ससम्मान अविलम्ब रिहाई गर्नु पर्ने विज्ञप्ती मार्फत माग गरिएको छ । लामाको तुरुन्त रिहाई नभएर त्यस पछाडिको घटनाक्रमको जिम्मा राज्यले लिनुपर्ने विज्ञप्तीमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले तत्काल गृहमन्त्रालयमा पठाउने बताउनुभयो । धार्मिक प्रयोजनको लागि मात्रै प्रयोग गरिएको भए पक्राउ गरेर कारबाहि नै गर्नु न्यायोचित हुन नसक्ने उहाँले पनि बताउनुभयो । सो मुद्धा अदालतसम्म पुगिसकेकोले सम्पुर्ण काम कारबाहि अदालतले नै गर्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार