भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा रहेको सिताराम गुठिको करिब १ हजार रोपनी जग्गा गायब भएको छ । गुठिको नाममा रहेको करिब १८ सय रोपनी जग्गामा अहिले ८ सय रोपनी समेत पुग नपुग अवस्थामा छ । मालपोत कार्यालय शाखा दिङ्लाको हालको तथ्यांक अनुसार केउरेनीपानीमा १ सय २२ रोपनी १३ आना ३ पैसा १ दाम, तुङ्गेछामा १ सय २ रोपनी २ आना १ दाम र मुलपानीमा ५ सय २३ रोपनी ८ आना ३ पैसा १ दाम गरी ७ सय ४८ रोपनी ८ आना ३ पैसा १ दाम मात्रै छ ।
समितिको अभिलेख अनुसार वि.सं. २०३६ साल भन्दा अगाडीको कागजहरुमा १८ सय रोपनी जग्गा गुठिको नाममा रहेको थियो । तर अहिले संखुवासभा र नेपाले डाँडामा गुठिको नाममा रहेको जग्गा हराईरहेको समितिका सचिव नगेन्द्र वस्नेतले नागरिक चासोसँग बताए । हराएको जग्गा कस्ले उपभोग गरेको र क्षेत्रफल कति छ भन्ने थाहा नभएको सचिव वस्नेतले बताए । गुठिको नाममा नेपाले डाँडा, मुलपानी, केउरेनिपानी, तुङगेछा र संखुवासभामा पनि जग्गा छ । तर यकिन तथ्यांक भने गुठि सञ्चालक समितिसंग समेत छैन ।
वि.सं. १९३२ सालमा गुठिको स्थापना भएता पनि १९६६ मा यसले लालमोहर प्राप्त गरेको थियो । तर गुठि रेखदेख गर्ने भनी पुन २०५१ सालमा नरेन्द्र वस्नेतको अध्यक्षतामा षडानन्द सिताराम गुठि नामाकरण गरी संस्था दर्ता गरिएको थियो । नरेन्द्र वस्नेत पछि क्रमशः पदम राई, दिल कुमार राई, किशोर किँरात र हाल प्रकाश पौडेलको गुठि सञ्चालकमा नेतृत्व रहेको छ ।
प्रतिक्रिया