रंगेली प्रहरीको नयाँ भवन उद्घाटन



विराटनगर / मोरङको इलाका प्रहरी कार्यालय रंगेलीको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी केदार रिजालले रंगेली नगरपालिका–६ मा निर्माण सम्पन्न भएको भएको भवनको रिवन काटेर उद्घाटन गरेका हुन् ।

रंगेलीमा २०१९ सालमा प्रहरी कार्यालय स्थापना भएको थियो । स्थापना भएको ५८ वर्षपछि सुविधा सम्पन्न भवन बनेको हो । १२ कट्ठा क्षेत्रफलमा रहेको प्रहरी कार्यालयको नवनिर्मित भवनमा कार्यालय प्रमुख, जुनियर प्रहरी अधिकृत, प्रहरी कर्मचारीहरुका लागि अलगलअग कोठा बनेका छन् ।

सुविधा सम्पन्न शौचालयसहितको महिला र पुरुष थुनुवा कक्षा पनि बनेका छन् । १९ कोठे भवन २ करोड ३२ लाख १८ हजार ५ सय १३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको रंगेली प्रहरी प्रमुख इन्सपेक्टर कवीन्द्र कार्कीले बताए । प्रहरीको भवन निर्माणका लागि कोसी एण्ड न्यौपाने निर्माण सेवा समिति काठमाडौंसँग सम्झौता भएको थियो ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उप–मेयर केशवकुमारी खराल, सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, स्थानीय बासिन्दा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

पूर्वेली न्युजबाट 

सम्बन्धित समाचार