प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव, ‘तराई–मधेस अझै उपनिवेश’



काठमाडौं, असार ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विनियोजन विधेयकमाथि संसदमा जारी छलफलमा बिहीबार भाग लिँदै उनले गलत विधेयक ल्याएकोमा जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि राजीनामा भने नमाग्ने बताए ।

जानी–जानी गलत विधेयक ल्याउने र फेरि फिर्ता लिने काम बहादुरी नभएको भन्दै गच्छदारले ‘संविधानलाई कमजोर पार्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?’ भनी प्रश्न गरे ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै राजपा नेपाल संसदीय दलका नेता महन्थ ठाकुरले संविधानले पहाड र तराई–मधेसलाई विभाजन गरेको भन्दै तराई–मधेस अझै उपनिवेश रहेको जिकिर गरे ।

शासकहरुले आफूलाई परिवर्तनकारी भनेपनि तराई–मधेसका जनतामाथि अझै विभेद गरिरहेको आरोप लगाउँदै उनले के–के परिवर्तन भयो ? देखाउन चुनौती दिए ।

यस्तै, राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आसेपासे र शक्तिशाली सांसदको क्षेत्रमामात्रै बजेट थुपारेर सरकारले ‘आफ्नो लागि आफैंले खाल्डो खनिरहेको’ टिप्पणी गरे ।

विनियोजन विधेयक–२०७६ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत् बिहीबार स्वास्थ्य तथा जनसंख्या, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय शीर्षकमा विनियोजित बजेटमाथि छलफल भएको छ ।

सम्बन्धित समाचार