प्रदेश १ मा बजेट खर्च निराशाजनक, आगामी वर्षको बजेट कार्यान्वयनमा चुनौती



विराटनगर, असार ६ । प्रदेश १ मा विकास बजेटको खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको जेठसम्म ३० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको सरकारले असार मसान्तसम्म ५० प्रतिशत खर्च गर्ने दाबी गरेको छ ।

चालू आवका लागि प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँमात्रै बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ ५ अर्ब १७ करोड र चालूतर्फ ५ अर्ब ४४ करोड रहेको छ, जुन बजेटको २९.४० प्रतिशतमात्र हो ।

तर सरकारले असार मसान्तसम्म कम्तीमा पुँजिगत खर्च ५० प्रतिशत पुर्‍याउने दाबी गरेको छ । कर्मचारी अभावसँगै आवश्यक संरचना र संयन्त्रको समस्या रहेका बेलामा यो स्वाभाविक रहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोको भनाइ छ ।

अर्कोतिर अर्थ विज्ञहरुले कुल बजेटको ५० प्रतिशत पनि खर्च गर्न नसकेको अवस्थामा बजेटको आकार बढाउनुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष सकिन लागेपछि बजेट सक्नकै लागि हचुवामा खर्च गर्दा बजेटको दुरुपयोग हुने बढी सम्भावना रहेको अर्थविद् डा. अर्जुन बराल बताउँछन् ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट ल्याएको छ । चालु बर्षको बजेटको खर्च गराइको शैलीले आगामी वर्षको बजेटको कार्यान्वयनमा पनि संशय उत्पन्न भएको छ ।

सम्बन्धित समाचार