निर्मला पन्त हत्या प्रकरणमा पाँच प्रहरीविरुद्ध उजुरी दर्ता



कन्चनपुर, असार ६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा पाँच प्रहरीविरुद्ध उजुरी दर्ता भएको छ ।

निर्मलाकान्डमा पक्राउ परेका भीमदत्त नगरपालिका–१८, सालघारीका १६ वर्षीय विशाल चौधरीले हिरासतका बेला आफूलाई यातना दिएको भन्दै तत्कालीन जिल्ला प्रहरी प्रमुख कुबेर कडायतलगायत अनुसन्धानमा खटिएका अरु चारजना प्रहरीविरुद्ध उजुरी दिएका हुन् ।

उजुरी पर्नेमा तत्कालीन कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत, प्रहरी नायब निरीक्षक कृष्णराज ओझा, विशेष अनुसन्धानका लागि खटिएकी एसपी दुर्गासिंह चन्द र नाम नखुलाइएका अरु दुईजना प्रहरी रहेका छन् ।

चौधरीले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजेपनि प्रहरीले मुद्दा दर्ता नमानेपछि शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ को १ अन्तर्गत् सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए ।

चौधरीको निवेदनअनुसार मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पठाएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

गत मंसिर १९ गते पक्राउ परेका विशाललाई प्रहरीले १७ दिन हिरासतमा राखेर रिहा गरेको थियो ।

सम्बन्धित समाचार