दिगो विकास लक्ष्य हासिल गर्न ‘वर्षेनि पाँच खर्ब ८५ अर्ब लगानी अपुग’



दिगो विकास लक्ष्य हासिल गर्न प्रत्येक वर्ष पाँच खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग हुने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले शुक्रबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाजसँगको छलफलमा दिगो विकास लक्ष्य कार्यान्वयनमा प्रत्येक वर्ष पाँच खर्ब ८५ अर्ब लगानी न्यून हुने जनाएको हो ।

आयोगले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, ऊर्जा, सहरी विकास र जलवायु परिवर्तनको क्षेत्रगत आधार एवं गरिबी, लैंगिक विभेद, आर्थिक र समावेशी वृद्धि, उद्योग, आवास, सुशासन र सडकको प्रतिइकाइ लागत र अपेक्षित प्रतिफलको आधारमा उक्त रकम अपुग हुने देखिएको जनाएको हो ।

आयोगले सार्वजनिक क्षेत्रमा दुई खर्ब १८ अर्ब तथा निजी क्षेत्रमा तीन खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ लगानी अभाव हुने जनाएको छ ।

सार्वजनिक क्षेत्रबाट प्रत्येक वर्ष ११ खर्ब ११ अर्ब र निजी क्षेत्रबाट ७ खर्ब ३९ अर्ब रुपैयाँ लगानी हुने प्रक्षेपण गरिएको छ ।

यस्तै, घरपरिवारबाट ८८ अर्ब २० करोड र सहकारी तथा गैरसरकारी क्षेत्रबाट ८६ अर्ब ५० करोड रुपैयाँ लगानी हुने आयोगको अनुमान छ ।

आयोगले दिगो विकास लक्ष्य हासिल गर्न स्रोत अभाव भएपनि त्यसको परिपूर्तिका लागि वैदेशिक लगानी र बाह्य स्रोत परिचालनमा जोड दिनुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार