सिलिचोङका सवै माविमा सिसि क्यामरा र ईलेक्ट्रोनिक हाजिरी



हाजिरी मेसिनबाट हाजिर गर्नुहुँदै सगरमाथा मावि ताम्कुका प्रअ राई ।

सङ्खुवासभा । जिल्लाको दुर्गम मध्ये एक सिलिचोङ गाउँपालिकाको सवै माध्यमिक विद्यालयहरुमा सिसि क्यामरा र ईलेक्ट्रोनिक हाजिरी जडान गरिएको छ । विद्यालयका गतिविधीहरुलाई चुस्त बनाउने उद्देश्यका साथ उक्त उपकरणहरु जडान गरिएको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५/७६ को ‘आईसिटि’ कार्यक्रम अन्तर्गत विनियोजित १८ लाख रुपैयाँले गाउँपालिका भित्रका ६ विद्यालयमा उपकरण जोडिएको हो । यस बर्ष कालिका मावि नेवाटार, बाला मावि बाला, बालायाम्दाङ मावि बाला, सगरमाथा मावि ताम्कु, जीवनज्योति मावि मांतेवा र महेश्वरी मावि याफुमा सिसि क्यामरा र हाजिरी मेसिन जडान गरिएको हो ।

विद्यालय भित्र र बाहिर विभिन्न चोरीको समस्या र केही शिक्षकहरु विद्यालयमा उपस्थित हुने र फर्किने समयमा समस्या रहेको गुनासो बढेपछि सिसि क्यामरा र हाजिरी मेसिन जडान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । यो उपकरणहरुबाट विद्यालयमा हुने क्षती र विद्यालय सञ्चालनमा सहजता आउने कुलुङको दावी छ । विद्यालयमा सो उपकरणहरु जडान भएपछि विद्यालय सञ्चालनमा सहजता थपिएको सगरमाथा माविका प्रधानाध्यापक नरबुङ राईले जानकारी दिनुभयो । यस अघि जस्तो बाहिर र भित्रको सामान हराउलाकी भन्ने चिन्ता नभएको उहाँको भनाई छ । पहिलेको जस्तो शिक्षकहरुलाई विद्यालय आउने र जाने विषयमा कुरा गरिरहनु नपरेको जीवनज्योति माविका प्रधानाध्यापक छत्रजंग कार्कीले बताउनुभयो । विद्यालयमा यस्ता उपकरण जडानले शैक्षिक सुधारमा टेवा पुग्ने कार्कीले विश्वास ब्यक्त गर्नुभयो ।

यस बर्ष गाउँपालिका भित्रका सवै माध्यमिक विद्यालयहरुमा उपकरण जोडिएको र आगामी बर्ष अन्य विद्यालयहरुमा पनि जोडिने सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । सिलिचोङ भौगोलिक हिसावले अत्यन्तै दुर्गम भएपनि सुचना र प्रविधिको हिसावले सुगम बनाउने योजनाका साथ ‘आईटी’मा लगानी गर्दै आएको उहाँले जानकारी दिनुभयो । निकट भविश्यमा गाउँपालिका भित्रका सवै विद्यालयहरुलाई कम्प्युटर ल्याब सहितको प्रविधि मैत्री विद्यालय बनाउने उद्देश्यका साथ सगरमाथा माविमा कम्प्युटर ल्याबको लागि दश लाख रुपैयाँ विनियोजन गरि कार्यन्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सिलिचोङ गाँपालिका जिल्लाको सदरमुकाम खाँदबारीबाट १६ कोष टाढा पर्छ । गाउँपालिकाका सवै वडाहरुलाई सडक सञ्जालले जोडिएपनि अरुण नदि र सङ्खुवा खोलामा मोटरेबल पुल नहुँदा दुर्गमको सुचीबाट हट्न सकेको छैन ।

सम्बन्धित समाचार