एपीएफले उचाल्यो उदयपुर गोल्डकपको उपाधि



उदयपुर । शनिबार सम्पन्न उदयपुर गोल्डकपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले उचालेको छ। शनिवार भएको फाइनल खेलमा गोर्खा व्वाइज रुपन्देही–११ लाई शून्यकाविरुद्ध १ गोलले हराउँदै एपीएफ च्याम्पियन भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले पहिलो हाफसम्म गोल गरेनन् । ८० मिनेट खेलाइएको खेलको दोस्रो हाफको ७३ औँ मिनेटमा सशस्त्र प्रहरीका श्याम नेपालीले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो। जितसँंगै एपीएफले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता रुपन्देही–११ ले ३ लाखमा  चित्त बुझाएको छ।  एपीएफलाई उपाधि दिलाउन गोल गरेका श्याम नेपाली म्यानअफ द म्याच घोषित भए। उनले नगद सात हजार प्राप्त गरे ।

यस्तै प्रतियोगीताकै उत्कृष्ट खेलाडी सशस्त्र प्रहरीका राजेन्द्र रावल घोषित भए। उनले नगद ५० हजार प्राप्त गरे। विजेता टिमलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरे।  एसियन थाइफुड्स प्रालि र गैंडाछाप उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको यो गोल्डकप उदयपुरकोे सबैभन्दा ठुलो र प्रदेश एककै तेस्रो ठुलो प्रतियोगिता हो ।

८ टिम सहभागी प्रतियोगितामा सर्वाधिक गोलकर्ता रुपन्देहीका विदेशी खेलाडी फोफोना घोषित भए। उनले सर्वाधिक ३ गोल गर्दै २० हजार हात पारे। यस्तै उत्कृष्ट गोलरक्षक एपीएफका अमृत चौधरी, उदयमान खेलाडीमा उदयपुर–११ का सुदीप श्रेष्ठ घोषित भए। उनले १५ हजार हात पारे।

सम्बन्धित समाचार