भोटखोलाका ६५०० जनालाई एक वडासचिव



खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा पाँच वडा छन् । जनसंख्या ६ हजार ५ सय ७६ छ । तर, सबै वडाका जनतालाई एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयलाई सास्ती भएको छ ।

भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताए । ‘महिनामा एक वडामा दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन’, वडासचिव लामाले भने, ‘एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।’ अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा (वडासविच र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । २७ जनाको दरबन्दी भए पनि पाँच जनामा मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । पाँच जना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए । उनका अनुसार पाँच वडामा एक/एक र गाउँपालिका कार्यालयमा दुई गरी सात जना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । ‘एक जना वडासचिवलाई कतितिर कुदाउने ? ’, उनले भने । सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन हुने उनले बताए । सिंहदरबारकेन्द्रित सरकारी सेवा गाउँ पुर्‍याउन कठिन हुने उनको भनाइ छ ।

यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको उनले सुनाए । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक ४ हजार रुपैयाँसमेत व्यवस्था गरेको छ । यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् । चीन र भारत जोड्ने छोटो मार्ग किमाथाङ्का–रानी सडक सोही गाउँपालिका हुँदै जाने भए पनि काम समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्चालन हुने हो भने भोटखोलामा पनि कर्मचारी आउने उपाध्यक्ष पान्जाम भोटेको विश्वास छ । भोटखोलामा पुर्‍याउन किमाथाङ्का–रानी सडक तत्काल निर्माण गरी सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोश टाढा रहेको भोटखोला चीनको सीमा क्षेत्रमा पर्छ । यो गाउँपालिका साबिकका किमाथांका, चेपुवा, हटिया, पावाखोलाका १ देखि ३ वडा मिलेर बनेको हो ।

अन्नपुर्ण पोष्ट

सम्बन्धित समाचार