देउवा र पौडेललाई युवा नेताको खबरदारी- ‘पछि हटे पार्टी नै सकिने चेतावनी’



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाइने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरे। उनले महाधिवेशन नगरि फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्ने चेतावनी समेत दिए।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउँदैनौं। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने, भागवण्डा गरेर बनाउनेरु यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन। यो पार्टीका निम्ति प्रत्युत्पादक छ। यो गर्न पाइँदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन। वरिष्ठ नेतालाई पनि छैन।’

नेता थापाले सम्पूर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे।

सम्बन्धित समाचार