प्रधानमन्त्रीले भने- मन्त्री हेरफेरको हल्लामा सत्यता छैन



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच नभएको भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको शूरुमा नै प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने हल्ला सरकारलाई कमजोर बनाउने मनसायका साथ आएको भन्दै तत्काल मन्त्रीहरू हेरफेरको कुनै सम्भावना नभएको बताए ।

उनले आफ्ना मन्त्रीलाई आश्वस्त पार्दै हल्ला फिजाउनेलाई अग्रगामी कार्य गरेर देखाइदिन आग्रह गरे ।

‘बैठकको सुरुमा नै प्रधानमन्त्रीज्यूले मन्त्री फेर्ने हल्लापछाडि नलागौं, राम्ररी काम गरौं भन्नुभयो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्रीले सरकारलाई अस्थिर बनाएर फाइदा लिने तवहरू हावी हुन थालेको भन्दै सबै मन्त्रीहरूलाई सतर्कतापूर्वक जनताको मन जितेर काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई हल्लाको पछि नलागेर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएलगत्तै मन्त्रीहरूले केही सञ्चारमाध्यमले अनुमानका आधारमा भ्रमपूर्ण समाचार संप्रेषण गरेको भन्दै आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार