साउन १६ गते धरानमा विश्वसंगीत दिवश मनाउने



धरानः विश्वसंगीत दिवश आउदो साउन १६ गते धरानमा मनाउने भएको छ ।

धरान संगीत प्रतिष्ठानको आयोजनामा भानुचोकमा विश्व संगीत दिवश मनाउने भएको हो । विश्व संगीत दिवश २१ जुन अर्थात साउन ६ गते पर्छ । प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गर्नु परेकोले असार ६ गते मनाउन नसकिएको र ढिलै भएपनि मनाउन लागेको प्रतिष्ठानका अध्यक्ष सुर्बण श्रेष्ठले बताए । ‘हामीले प्रतिष्ठानको अधिबेशनको कारण विश्व संगीत दिवश २१ जुनमा मनाउन सकेनौं,’प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले भने,‘केही ढिलै भएपनि मनाउन लागेको हो, त्यसका लागि तयारी तिब्र पारेका छौं ।’

कार्यक्रममा प्रमुख आकर्षको रुपमा भारतीय च्यानल जि टिभीमा प्रशारित रियालीटी शो ‘सारे ग म प लिटिल च्याम्सका सेकण्ड रनरअन बनेका इटहरी निबासी प्रितम आचार्य रहने आयोजकले जनाएको छ । आचार्यलाई प्रतिष्ठानले सम्मान समेत गर्ने जनाएको छ । कार्यक्रममा दिप श्रेष्ठ, शिब लामिछाने, सपन श्रेष्ठ, गंगा बरदान, पम्फा चौहानसहित स्थानीय ४ वटा ब्याण्डको पनि प्रस्तुति रहने छ । सबै भाषा भाषिको गीत संगीत तथा नृत्यको प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले यसपटक देउडा गीतलाई समाबेश गदैछौं र लोक गीत, आधुनिक, पप सबै क्षेत्रको गीत संगीतलाई समेट् छौं’प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले भने,‘विभिन्न सांस्कृतिक नृत्यको पनि प्रस्तुति हुन्छ ।’

कार्यक्रममा लाइभ म्यूजिक र ट्राकमा गीत प्रस्तुति दिने छन् । यसपटक बालगायक आचार्यसहित चतरा निबासी हारमोनियम बादक रामचन्द्र बनेपाली र धरान संगीत प्रतिष्ठानका निवर्तमान उपाध्यक्ष एबंम संगीतकार विजन भट्टराईलाई पनि सम्मानित गरिने प्रतिष्ठानका सचिब विकास सुब्बाले जनाए । नेपालीले करिब २०२२ सालमा बरिष्ठ गायक दिप श्रेष्ठलाई हारमोनियम प्रशिक्षण दिएका थिए । कार्यक्रम अपरान्ह ३ बजेबाट शुरु हुने छ । कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी रहने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार