असार । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपार्इं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ ।
युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया