मालपोत कार्यालय इलाममा अनलाइन प्रणाली झन्झटिलो



इलाम । काम छिटो छरिटो र सहज रुपमा हुने भन्दै मालपोत कार्यालय इलामले अनलाइन प्रणाली सुरु गरे पनि सेवाग्राही भने हैरान भएका छन् ।

समयसमयमा इन्टरनेट जाने तथा दक्ष जनशक्तिको अभावाका कारण काममा झन् ढिलाइ हुँदा सेवाग्राही झण्झट बेहोर्न बाध्य भएका हुन् ।

अनलाइन प्रणालीबाट काम हुँदा सहज हुने भनिए पनि व्यवस्थापन गर्न नजान्दा मालपोत कार्यालय इलामका सेवाग्राही त्यसकै मारमा परेका छन् ।

अनलाइनबाट कामको सुरुवात गरिए पनि ढड्डामा पनि तथ्यांक राख्नुपर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले डिजिटल प्रक्रियामा गएकाले समस्या नहुने उद्घोष गरे पनि झन् झन्झट ब्यहोर्नुपरेको सेवाग्राहीको गुनासो छ ।

डिजिटल प्रक्रियामा गएको महिना दिन नबित्दै मालपोत कार्यालयमा आउने सेवाग्राही बरु पहिलेकै ठिक भन्ने मनस्थितिमा पुगेका छन् ।

विभिन्न काम लिएर मालपोत कार्यलय पुगेका सेवाग्राहीहरूले सामान्य कामका लागि पनि ठूलो बखेडा झेल्नुपरेको लेखापढी व्यवसायी नारायण प्रसाद घिमिरेको भनाइ छ ।

कार्यालयमा दरवन्दी अनुसारको कर्मचारी नभएका कारण र इन्टरनेटले पनि  राम्रोसँग काम नगर्दा सेवाग्राहीको समयमा काम गर्न नसकिएको कर्मचारी बताउँछन् ।

यता, अनलाइन प्रणालीमा देखिएको समस्या समाधानका लािग विभागसँग सहकार्य गरिरहेको मालपोत कार्यलय इलामका कार्यालय प्रमुख केशवकुमार ढकाल बताए ।

कार्यालयमा चुस्त दुरुस्त सेवा प्रदान गर्ने भनेर इन्टरनेटको प्रयोग भएपनि सेवाग्राहीले झन् दुःख पाएका छन् ।

यसको उचित व्यवस्थापन र तयारीका लािग सुरु हुनुभन्दा पहिले नै ध्यान दिनुपर्ने थियो ।

सम्बन्धित समाचार