सरकारको लापरवाहीले काठमाडौंका विश्वसम्पदा खतराको सूचीमा



काठमाडौं, । युनेस्कोले काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने सम्मेलनमा युनेस्कोले काठमाडौं उपत्यकाका विश्व सम्पदालाई खताराको सूचीमा राख्ने गरी एजेन्डा तय गरेको छ ।

काठमाडौंलाई स्मार्ट शहर बनाउने दाबीसहित जनप्रतिनिधिले लोकप्रिय भाषण गरिरहँदा अन्तर्राष्ट्रिय तहमा उपत्यमा रहेका सम्पदा खतराको सूचीमा पर्नु लाजमर्दो विषय बनेको छ । युनेस्कोले काठमाडौं उपत्यकामा रहेका सबै विश्व सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्तावको तयारी गरेपछि यसले नेपालमा गम्भीर बहस पैदा गरेको छ ।

काठमाडौं उपत्यकामा मात्रै सातवटा सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचीकृत छन् । हनुमानढोका, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपतिनाथ मन्दिर र चांगु नारायण मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी सम्पदाहरुको संरक्षणमा सरकारले ध्यान नदिएको र सम्पदा क्षेत्रभित्र असर पुग्ने गरी अनधिकृत निर्माण कार्य भइरहेको भन्दै युनेस्कोले सरकारलाई बारम्बार चेतावनी दिँदै आएको थियो ।

विशेषगरी पशुपति श्लेश्मान्तक वनमा निर्माण भएको सडक, विश्वरुप मन्दिर पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएकोमा युनेस्कोले आपत्ति जनाउँदै आएको थियो । युनेस्कोको आपत्ति र सर्वोच्चको फैसलाअनुसार हाल निर्माण गरिएको बाटो बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यस्तै, स्वयम्भू र बौद्धनाथमासमेत अनधिकृत निर्माण भइरहेको प्रति सरोकारवालहरुले चासो देखाउँदै आएका छन् । स्वयम्भु भगवानपाउमा कंक्रिटको प्रयोग गरी प्रवेशद्वार निर्माण गर्न लागिएको थियो । सम्पदा अभियन्ताहरुको विरोधपछि काठमाडौं महानगरपालिकाले प्रवेशद्वार निर्माण गर्न रोक लगाएको छ ।

यस्तै, स्वयम्भू स्तूप परिसरमा आचारसंहिता विपरित घरहरू बनिरहेको भन्दै विरोध हुँदै आएको छ । बौद्धनाथमा समेत केही महिनाअघि स्तूपलाई सजाउने नाममा किल्ला ठोक्ने र बत्तीहरु राख्ने घटना सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार