वैदेशिक रोजगारीमा ठग्ने महिला जेल चलान



काठमाडौं : वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला जेल चलान भएकी छिन् ।     वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ साल असार २६ को फैसलाले एक वर्ष छ महिना कैद र रु एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पाको खानीगाउँ निवासी टीकाकुमारी थापा आइतबार जेल चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी)ले जनाएको छ।

  उनलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै जेल चलान गरिएको हो। कैद भुक्तानका लागि उनलाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सिआइवीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

उनले २०६९ सालमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने ईजाजतपत्र बिना नै वैदेशिक रोजगारका लागि साइप्रस पठाइदिने भन्दै रकम ठगी गरेकी थिइन्। अदालतले थापालाई दोषी ठहर गर्दै उक्त सजायसहित जाहेरवालालाई बिगो र हर्जनासमेत गरी कूल रकम रु १४ लाख २५ हजार तिर्नुपर्ने फैसला गरेको थियो।

सम्बन्धित समाचार