चियाको राजधानीमा उद्योगीले चिया खरिद नगरेपछि चिया पत्ती पोखेर सडकमा किसानको विराेध प्रदर्शन



इलाम : चियाको राजधानीमा उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन। किसानले इलाम टि प्रोड्युर्स प्रा.लि. पञ्चकन्यामा विक्री गर्न लगेको करिव १ हजार किलो ग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोध स्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका हुन।

किसानले आइतबार साझ नगरपालिका अगाडि, नयाँचोक, र फिक्कल बजारमा चिया पोखेर बिरोध जनाएका छन्। साँझ ७ बजे किसानको एक समूहले ५०० केजी चिया पोखेको आधा घण्टा नवित्दै अर्को समूहले सोही स्थानमा थप ५०० केजी चिया पोख्यो।

यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्वन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो। उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै  असार १० गते पत्र पठाएर १२ गतेदेखि उद्योग बन्द गरेका थिए।

उद्योगीको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भएपछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग संचालन गर्ने सहमति भएको थियो।समस्या समाधानका लागी तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दिर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो।

उद्योग संचालनमा आएको १२ घण्टा नवित्दै किसानको चियाको गुणस्तर  नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानले अर्को आन्दोलन थालेका हुन। सुर्योदय नगरपालिका ११ का किसान लेखनाथ भट्टराईले नगरले तोकेको गुणस्तरलाई ध्यानमा राखे पनि सवै पत्ती एउटै स्तरको नहुने बताए। उनले उत्पादित पत्ती अनुसार मूल्य निर्धारण गनुपर्ने बताए।

उद्योगले यसअघि राम्रो पत्ती ४० रुपैयाँ र नराम्रो पत्ती ३० रुपैयाँ प्रतिकेजी खरिद गर्ने गरेको थियो। तर छलफलपछि कार्यविधिमा तोकिएको अनुसारको गुणस्तर नपुगेको चिया उद्योगले खरिद नगरेपछि किसानले गेटबाटै पत्ती फर्काएका हुन।

सम्बन्धित समाचार