जेष्ठ नागरिकहरुको चाहना अनुसार नै सम्मान गर्छौः वडाध्यक्ष राई




याफु । हालै सिलिचोङ गाउँपालिका वडा नम्बर ५ ले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गर्यो । वडा भरिका ७० बर्ष नाघेका बुढाबुढीहरु आफु सम्मानित हुने भएपछि हर्षित हुँदै कार्यक्रम हुने स्थल महेश्वरी माध्यमिक विद्यालयमा आए ।

वडाअध्यक्ष ईश्वर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख रामबहादुर राई प्रमुख अतिथी रहनुभएको थियो । यस बर्ष वडा कार्यालयले वडा नम्बर ५ याफुमा रहेका ४८ जेष्ठ नागरिकहरुलाई छाता र लट्ठी वितरण गरेको हो । बर्षातको समयमा हिडडुल गर्न छाता र लट्ठी सवैभन्दा बढी उपयोगी भएकोले उक्त सामग्रीहरु वितरण गरिएको वडाअध्यक्ष राईले जानकारी दिनुभयो । अघिल्लो बर्ष जेष्ठ नागरिकहरुलाई नगद वितरण गरिएको भएपनि यस बर्ष त्यो भन्दा पनि बुढाबुढीको हकमा अहिले छाता र लट्ठी बढी उपयोगी हुने राईको ठम्याई छ । यो सामग्रीहरु पनि जेष्ठ नागरिकहरुको माग बमोजिम नै वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा यस बर्ष सामग्रीहरु पाउने जेष्ठ नागरिकहरुलाई आगामी बर्ष कस्तो सामग्री पाउने चाहना छ भन्ने प्रश्न समेत सोधिएको थियो । कार्यक्रममा सहभागी अधिकांशले लत्ताकपडाको अपेक्षा राखेका छन् । त्यस्तै, औषधी उपचारमा पनि सौलियतको ब्यवस्था माग राखेका छन् । केही जेष्ठ नागरिकहरुले भने आफुहरुले माग्दैमा पुरा हुन नसक्ने बताउदै सरकारले जे दिएपनि उपयोगी नै हुने बताएका छन् ।

कार्यक्रममा बोल्नुहुँदै वडाअध्यक्ष ईश्वर राईले आगामी बर्ष जेष्ठ नागरिकहरुकै चाहना अनुसार कार्यक्रम गरिने घोषणा गर्नुभएको छ । जेष्ठ नागरिकहरुलाई खुसी तुल्याउनु आफुहरुको पनि चाहना भएको बताउनुहुँदै उहाँहरुलाई निराश हुने काम कहिल्यै नगर्ने बताउनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्मानीत हुनेहरु निक्कै खुसी भएको बताएका छन् । अस्ताउन लागेको घाम बताउने उनीहरुले यस बर्षदेखि सामाजिक सुरक्षा समेत बढेको खबरले खुसी भएका बताएका छन् । अब बढेसकालमा सरकार साहारा बनेको उनीहरुले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख रामबहादुर राईले जेष्ठ नागरिकहरुका दिर्घायुको कामना गर्नुभयो । जेष्ठ नागरिकहरु जुगजुग बाँचीरहे उहाँहरुको आषिर्वाद मिलिरहनेसमेत दावी गर्नुभयो । गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मान र हौसलाको लागि हरेक बर्ष विभिन्न कार्यक्रम तय गरेर गाउँपालिका भरि नै कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा राजनितिक दलका स्थानीय नेता कार्यकर्ता, सामाजिक अगुवा, सुरक्षा निकायका प्रतिनिधी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम महेश्वरी माविका शिक्षक टेकसिं राईले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार