महिलै महिलाहरुको सहकारीको भवन उद्घाटन




मांतेवा । सिलिचोङ गाउँपालिकाको अत्यन्तै सक्रिय मध्ये एक मांतेवा महिला बचत तथा ऋण सहकारी संस्थाको भवन निर्माणको कार्य सम्पन्न भएको छ । उक्त भवनलाई एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

गाउँपालिका प्रमुख रामबहादुर कुलुङले नव निर्मित भवनमा रिविन काटेर उद्घाटन गर्नुभएको हो । सहकारीका अध्यक्ष मनकुमारी कुलुङको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । सहकारी संस्थाको भवन तीन बर्षमा सम्पन्न भएको हो । तत्कालिन जिल्ला विकास समिति, महिला तथा वालबालिकाको कार्यालय, स्थानीय तह र सरकारीको आन्तरिक श्रोतबाट भवन निर्माण गरिएको हो । १४ लाख नगद र दुई लाख ८० हजार रुपैयाँ बराबरको जनश्रमदान गरि १६ लाख ८० हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवन निर्माण गर्न महिला सञ्जालबाट एक लाख, तत्कालिन जिल्ला विकास समितिबाट २ लाख, महिला तथा वालबालिकाको कार्यालयबाट २ लाख, सिलिचोङ गाउँपालिका २ नम्बर वडाबाट ८ लाख र सहकारीको जगेडा कोषबाट १ लाख गरि १४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । पहिलो बर्ष घरेडी सम्याउने, दोश्रो बर्ष गारो लगाउने र तेश्रो बर्ष हालै छानो लगाएर निर्माण कार्य सम्पन्न भएको सहकारीका अध्यक्ष मनकुमारी कुलुङले जानकारी दिनुभयो । यस बर्ष वडाबाट पुग्दो बजेट प्राप्त भएपछि भवन निर्माण सम्पन्न गर्न सम्भव भएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । प्राप्त बजेट बाहेक श्रमदानमा जुट्न सवै सेयर सदस्यहरु तयार भएकोले पनि भवन निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । भवन निर्माणसँगै वडा पालिकाबाट प्राप्त भएको २ लाख रुपैयाँले सोलार सेट समेत खरिद गरि प्रयोगमा ल्याईएको समतिले जानकारी दिएको थियो ।

भवन निर्माण गर्नको लागि सहकारीका संस्थापक अध्यक्ष पार्वती कुलुङ र उहाँको श्रीमान रविन्द्र कुलुङले निशुल्क जग्गा दिएका थिए । उक्त जग्गामा भवन निर्माण गरिएको हो । हालै भवन निर्माण कार्य सम्पन्न भएपनि अझै थुप्रै कामहरु अधुरो रहेकोले बाँकी कामको लागि पनि स्थानीय सरकारले सहयोग गर्न सेयर सदस्यहरुले माग राखेका छन् । जस्ताको छानो भएकोले छानामा सिलिङ लगाउन आवश्यक बजेट उपलब्ध गराउन गाउँपालिका प्रमुखलाई समितिले माग गरेका छन् । त्यस्तै, कार्यालयको प्रयोजनको लागि आफ्नै सौचालय नभएकोले सोको लागि पनि बजेट उपलब्ध गराउने संस्थापक अध्यक्ष पार्वती कुलुङले माग राख्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका प्रमुख रामबहादुर कुलुङले थोरै लागतमा नमुना भवन बनेको बताउनुभयो । साना टुक्रे बजेटले राम्रो भवन बनाउन सफल भएकोमा सहकारी परिवारलाई बधाई समेत दिनुभयो । बाँकी कामहरुको लागि आवश्यक बजेट वडा परिषदमा माग गर्न र वडाबाट सम्बोधन नभए गाउँपालिकाले सम्बोधन गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

मांतेवा महिला बचत तथा ऋण सहकारी संस्था महिलाहरुको सक्रियतामा महिलाहरु मात्र सेयर सदस्य बन्ने गरि स्थापना गरिएको संस्था हो । १० वटा बचतको प्रकार रहेको यस सहकारीमा हाल चार सय सेयर सदस्य पुग्न लागेको बताईएको छ ।

सम्बन्धित समाचार