सिलिचोङ गोली काण्डः विप्लव भन्छन् तीन कार्यकर्ता बेपत्ता



सिलिचोङ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङलामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएको विप्लप समुहले जनाएको छ । प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना जिल्ला नेताले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको जानकारी दिए।

प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन्। तर जिल्लास्थित सुरक्षा अधिकारीहरु यो कुराबारे केही बोल्न तयार छैनन्। ‘हाम्रो टोली भात खाइरहेका बेला प्रहरीले अचानक हामीमाथि फायरिङ गर्‍यो’, विप्लपका ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन्। उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।’ घटनास्थलमा गोली चले पनि अहिलेसम्म हताहतीको कुनै जानकारी छैन। उक्त समूहका सचिवालयका एक नेताले पनि संखुवासभाबाट आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका कार्यकर्ताको विवरण विप्लव समूहले पनि उपलब्ध गराउन सकेको छैन।

यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा रहेको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन्। प्रजिअ दुलालले त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिकिर गरेका छन्। ‘हाम्रो प्रहरी टोली सिसुवा क्षेत्रमा नियमित गस्तीमा थियो’, उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवको तर्फबाट गोली चलाइयो, त्यसपछि प्रहरीको तर्फबाट आत्मरक्षाका लागि फायर खोलिएको हो।’ के भयो थाहा छैन ?

‘त्यसक्षेत्रमा के भएको हो ? विस्तृत जानकारी आउनै सकेको छैन’, प्रजिअ दुलालले भने, ‘प्रहरीको सञ्चार सेटले पनि काम गरेको छैन। त्यहाँ मौसम पनि खराब भएकाले सबै सूचना आउनै सकेको छैन।’ गोली हानाहानपछि सरकारले सिसुवा क्षेत्रमा सेनाका तीनवटा हेलिकोप्टर ओरालेको थियो। ती हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५४ जनाको टोली लगिएको थियो । त्यस्तै सदरमुकाम खाँदबारीबाट केही दिनअघिबाटै त्यो क्षेत्रमा सशस्त्र प्रहरीको २० जनाको टोली गस्तीमा थियो। त्यतिकै संख्यामा नेपाल प्रहरीको टोली पनि गोली हानाहानपछि खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा १७ जनाको अर्को टोली त्यसतर्फ पठाइएको थियो । विप्लवका कार्यकर्ता खोज्न ताम्कु र सिसुवाबाट पनि प्रहरी परिचालित गरिएको छ।

सम्बन्धित समाचार