दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण



संखुवासभा, सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ४२ परिवारलाई वितरण गरेको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम बासथला, दुुम्सीकुर, आपुङ, सिवेक्पा, इथुक्बु लगायतका दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरेको वडा नम्बर ६ का अध्यक्ष विकास पौडेलले जानकारी दिए । विद्युत्त नपुगेका ४२ परिवारलाई ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

निशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुसी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली बनाउन पाउँदा निकै खुसी लागेको बताइन् । रातीमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको छ उनले भनिन् । टुकीको भरमा गुजरा चलाउँदै आएका इन्द्र तामाङले भने सोलार सेट पाउदाँ निकै खुसी लागेको बताए । तामाङले भने घरैमा सोलार भएपछि घण्टौ लगाएर मोवाइल चार्ज गर्न बाह्रविसे जानु पर्ने बाध्यता समेत हटेको बताए । ग्रामीण भेगमा विद्युत्त नहुदाँ मोवाइल फोन चार्ज गर्न घण्टौ लगाएर छिमेकी गाउँ जानु पर्ने बाध्यता हटेको यम तामाङले बताए ।

सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युतको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन ।

सम्बन्धित समाचार