विश्वकप क्रिकेटमा अफगानिस्तान अंकविहीन



लन्डन,- इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ ।

अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ ।

लिग चरणको अन्तिम खेलमा हिजो वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो । लिड्समा वेष्ट इण्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रनमात्र बनाउन सक्यो ।

अफगानिस्तानलाई लक्ष्यभन्दा सस्तैमा रोक्न वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ४ तथा केमार रोचले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । उसका लागि साई होपले ७७ रन बनाए । बलिङतर्फ अफगानिस्तानका दौलत जद्रानले २ विकेट लिए ।

यो हारसँगै अफगानिस्तान एक दिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै घर फर्कने तेस्रो राष्ट्र बनेको छ । यसअघि सन् १९७९ मा भारत र १९८७ मा श्रीलंका जितविहीन बन्दै घर फर्किएका थिए ।

यसैबीच प्रतियोगिताअन्तर्गत आज पाकिस्तान र बंगलादेश भिड्ने भएका छन् । सेमिफाइनल प्रवेशको सम्भावना बाँकी राखेको पाकिस्तानले आज बंगलादेशलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने छ ।

अंक तालिकाको पाँचौं स्थानमा रहेको पाकिस्तानले बंगलादेशलाई ठूलो अन्तरले पराजित गर्न सके ऊ सेमिफाइनलमा प्रवेश गर्ने छ ।

सम्बन्धित समाचार