बिमा रकम पाउन ४ वर्षीय छोरीको हत्या



रौतहट । रौतहटमा एक बालिकाको हत्या उनकै बुवाले गरेको खुलासा भएको छ ।

मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले आफ्नै ४ वर्षीय छोरी लक्ष्मी राय यादवको बिमा गराएको एक महिना बित्न नपाउँदै हत्या गरेको खुलेको हो ।

गत जेठ १९ गते छोरीको प्रभु लाईफ ईन्सुरेन्स गरुडा उपशाखामा २५ लाखको बिमा गरेका यादवले बिमा कम्पनीबाट दोब्बर रकम पाउने आशमा गत १७ गते छोरीको हत्या गरेर नजिकैको पोखरीमा फालेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिमा कम्पनीलाई यादवले बिमित भए बापतको पौने दुई लाख रकमसमेत बुझाईसकेका थिए । कम्पनीमा बिमितको रकम बुझाएको एक महिनामै निधन भएको खण्डमा दोब्बर रकम पाउने आशमा उनले छोरीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

चाँडै धनी बन्ने आशमा उनले छोरीमात्रै गुमाएनन्, बिमा गरेको रकम समेत डुबाएर अन्तत आफैं प्रहरी हिरासतमा पुगेका छन् । हत्या गरिएकी बालिकाको शरीरको विभिन्न भागमा नीलडाम समेत पाइएको थियो ।

छोरीको हत्यामा संलग्न रामकिशोरलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । घरबाट छोरी हराएको भन्दै खोजीका लागि उनैले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी नायव उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा हत्याकाण्डमा उनको संलग्नता पाएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

सम्बन्धित समाचार