इजरायल पठाइदिने भन्दै ठगिए १४ युवा युवती



विराटनगर मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूको काठमाडौं बस्छन् । टोखा नगरपालिका–८ मा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म छ । फार्म सञ्चालक लिम्बूको धन्दा भने विचित्रको रहेको पाइयो । बाहिर देखाउँदा आफू एउटा महान कृषक भन्ने देखाउने उनको भित्री धन्दा भने धेरैलाई आश्चर्यचकिन पार्ने खालको छ । वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इजरायल पठाइदिने भन्दै उनले लेटाङकै १४ युवा युवतीसँग लाखौं रुपैयाँ ठगी गरेका छन् । कामदार पठाउन सरकारले प्रतिबन्ध लगाएको मुलुक हो इजरायल । ठगीमा उनीसँगै सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङ पनि संलग्न रहेको अनुसन्धानले देखाएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कूलबहादुरको ठगीमा आफन्त र छिमेकीहरु परेका छन् । सबैसँग गरेर १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको पुष्टि भएको कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनले १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको बताए । तीन वर्षदेखिको ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म छन् ।

लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि कूलबहादुरले ठगी गरेको कार्यालयले जनाएको छ । नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् । कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीषामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्कपरमिट भीषाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कूलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कूलबहादुुरको हस्ताक्षर र औंठा छाप छ । सबै कागज हामीसँग सुरक्षित छन् ।

अर्गानिक तरकारी र दूध उत्पादन गर्ने नाममा वैदेशिक रोजगारीको अवैध धन्दा चलाउने गरेको पुष्टि भएको अनुसन्धानले देखाएको छ । पीडितहरुले दोषीमाथि कारबाही हुनु पर्ने माग राखेर श्रम कार्यालयमा दिएका छन् । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिषर टेकुले कूलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो । कुनै कोही व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा अनुसन्धान गर्दा उनले दर्ता गरेको नपाइएका कारण वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ ।

सम्बन्धित समाचार