संखुवासभाका ३० पत्रकारले लिए परिचय पत्र



पत्रकार परिचय पत्र लिदै पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरी ।

संखुवासभा । सुचना तथा प्रसारण विभाग र पत्रकार महासंघ सङ्खुवासभाको आयोजनामा सञ्चालन गरिएको घुम्ति सिविरबाट जिल्लाका ३० पत्रकारहरुले परिचयपत्र लिएका छन् । २६ असारसम्म तीन दिन सञ्चालन गरिएको शिविरबाट उक्त संख्यामा जिल्लाका पत्रकारहरुले पत्रकार परिचयपत्र लिएका हुन् ।

दुर्गम हिमाली जिल्लाबाट काठ्माण्डौ गएर प्रेस प्रतिनिधी प्रमाण पत्र लिन नसकेकाहरुलाई लक्षित गरि सुचना विभाग र पत्रकार महासंघले संयुक्त रुपमा घुम्ति सिविर सञ्चालन गरिएको हो । शिविरमा विभागको तर्फबाट निर्देशक ध्रुबकुमार पोखरेल, शाखा अधिकृत लक्ष्मी दुरा, टेलिप्रिन्ट अपरेटर रामेश्वर कार्की लगायतका टोलीको उपस्थिती रहेको थियो । टोलीले तीन दिन लगाएर जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरेको हो । उक्त संख्या मध्ये ७ जनाको पुरानो नविकरण गरिएको हो भने अन्यले पहिलो पटक परिचय पत्र पाएका हुन् ।

घुम्ति टोलीबाट जिल्लामा सञ्चालनमा रहेको एक अनलाईन पत्रिका पनि दर्ता गरिएको छ । टोलीले ईमकालु अनलाईन डट कम नामको अनलाईन पत्रिकालाई दर्ता प्रमाण पत्र प्रदान गरेको हो । सङ्खुवासभाबाट दर्ता भएर सञ्चालनमा आएको यो नै पहिलो अनलाईन पत्रिका हो । त्यस्तै, सङ्खुवासभाका दुई रेडियोका अध्यक्षहरुलाई समेत परिचय पत्र प्रदान गरिएको छ । सामुदायिक रेडियो खाँदबारी एफ एमका अध्यक्ष सरोजकुमार बज्राचार्य र रेडियो संखुवासभाका अध्यक्ष कृष्ण भगत प्रधानलाई संचार संस्थाको अध्यक्षको परिचय पत्र प्रदान गरिएको हो ।

परिचय पत्र वितरण पछि त्यसको आवश्यकता, महत्व र नविकरण प्रकृयाको बारेमा जानकारी गराईएको थियो । घुम्ति शिविर कार्यक्रममा बोल्नुहुँदै सुचना विभागका निर्देशक पोखरेलले दुर्गम हिमाली जिल्लाका पत्रकारहरुको समस्यालाई ध्यानमा राखेर सङ्खुवासभामा शिविर ल्याएको जानकारी दिनुभयो । यस बर्ष नेपालभर जम्मा ४ वटा मात्रै कार्यक्रम रहेको मध्ये प्रदेश एकबाट यस बर्ष सङ्खुवासभा छनौट गरिएको उहाँले जानकारी दिनुभयो । यो कार्यक्रम पहिले तेह्रथुममा गर्ने भनिएपनि प्राविधिक कारणले सङ्खुवासभा सारिएको समेत उहाँले जानकारी दिनुभयो ।

घुम्ति सिविरसँगै जिल्लाका पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि पत्रकारीता तालिम समेत प्रदान गरिएको छ । जिल्लाका पत्रकारहरुलाई डाक्टर विजयकुमार मिश्रले तालिम प्रदान गरेका हुन् । तालिमले जिल्लामा कार्यरत पत्रकारहरुलाई पुर्नताजगिको काम भएको पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले दावी गर्नुभयो ।

सङ्खुवासभामा सात वटा रेडियो, दुई वटा साप्ताहिक पत्रिका र दुई अनलाईन न्युज पोर्टल सञ्चालनमा छ । उक्त सञ्चार माध्ययमहरुमा करिव चार दर्जन कर्मचारी तथा पत्रकारहरु कार्यरत छन् ।

सम्बन्धित समाचार