पानी झरीमा पनि धमाधम प्रधानमन्त्री रोजगार कार्यक्रम



झरिमा रुझ्दै सिलिचोङ गाउँपालिकामा सडकमा सोलिङ गरिरहेका प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारहरु । तस्विरः सागर राईको फेसबुकबाट साभार

सङ्खुवासभा । चालु आर्थिक बर्षको अन्तिम चौमासिकमा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएकाहरुले पानी झरीमा समेत निरन्तर काम गरिरहेका छन् । जिल्लामा बेरोजगार भएर घरमै बसेकाहरुले रोजगार पाएपछि निरन्तर काममा जुटेका हुन् ।

बर्षातको समयमा बढी पानी पर्ने भएकोले ओढ्ने प्लाष्टिकको ब्यवस्था गरेर काममा लागेको रोजगार पाएकाहरुले बताएका छन् । कहिले घाम कहिले पानी भईरहने भएकोले ओढ्नेको ब्यवस्था गरेर काम सुरु गरेको उनीहरुको भनाई छ । ‘असार मासमा पानी पर्छ नै, पानी पर्दा पनि प्लाष्टिक ओढेर काम गर्दै आएका छौं’, प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न सिलिचोङ गाउँपालिकाका जितेन्द्र राईले भन्नुभयो । कहिले टन्टलापुर घाममा र कहिले पानी झरीमा रुझ्दै काम गर्दै आएको अर्का रोजगारमा सहभागी मनिस विश्वकर्माले जानकारी दिनुभयो । आफ्नै गाउँको विकास पनि हुने, काम गरेको पैसा पनि पाउने भएकोले जिल्लाका स्थानीय नागरिकहरु उत्साहित भएका छन् ।

छोटो समयको लागि भएपनि गाउँका युवाहरुलाई रोजगारी दिन पाउदा गाउँगाउँमा सकरात्मक सन्देश गएको जनप्रतिनिधीहरु पनि बताउने गरेका छन् । गाउँमा शिक्षित युवाहरु समेत बेरोजगार भएको अवस्थामा रोजगारी दिन पाउँदा रोजगार पाएकाहरु हर्षित भएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाको भनाई छ । आगामी बर्षहरुमा पनि बजेट बढाएर लामो समयको लागि रोजगार दिनसके अझ प्रभावकारी हुने शेर्पाको बुझाई छ । आर्थिक बर्षको अन्त्य तिर मात्र नभएर पहिलो चौमासिकबाट नै यो कार्यक्रम लागु गर्नु पर्ने सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको पनि सुझाव छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएकाहरुले यस पटक सडक मर्मत र सार्वजनिक स्थानको सरसफाई लगायतका क्षेत्रहरुमा काम गरेका छन् । अधिकतम् एक महिनाको अवधिमा केहि स्थानीय तहहरुले यस बर्षको कार्यक्रम सम्पन्न गरिसकेका छन् भने केही सम्पन्न गर्ने क्रममा छन् । स्थानीय तहहरुका अनुसार रोजगार पाएकाहरुले प्रतिदिन प्रतिब्यक्ति ६ सय १५ रुपैयाँको दरले पारिश्रमिक पाउने छन् । प्राप्त कुल बजेटको ७५ प्रतिशत कामदारको पारिश्रमिकमा खर्च गरिने भएको छ । बाँकी २५ प्रतिशत भने निर्माण सामग्री खरिदमा खर्चिएको रोजगार संयोजकहरुले बताएका छन् ।

पाँच गाउँपालिका र पाँच नगरपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा यस बर्ष ९ सय ६ जनाले काम पाएका छन् । सवै भन्दा धेरै पाँचखपन नगरपालिकामा एक सय ८९ जनाले रोजगार पाएका छन् भने सवैभन्दा थोरै चिचिला गाउँपालिकामा एक सय १८ जनाले रोजगार पाएका छन् । चिचिला गाउँमापालिका भौगोलिक र जनसंख्याको आधारमा सवैभन्दा सानो स्थानीय तह हो । जिल्लाको सवैभन्दा दुर्गम भोटखोला गाउँपालिकामा भने रोजगार कार्यक्रम लागु गरिएको छैन । केन्द्रले रोजगार संयोजक नपठाएको र बेरोजगार फारम पनि कसैले नभरेको कारण कार्यक्रम लागु नभएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार