सप्तकोशीका ३२ ढोका खोलिए अहिलेसम्म खतरा भने नरहेको



सुनसरी । तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ।

पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ। शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको  छ। ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्। अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए।

कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ। १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ। नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ।  चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ।

कमजोर स्परमा नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ। नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ। घिमिरेका अनुसार ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खतरापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र सावधानी अपनाउनुपर्ने हुन्छ। स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ।

अहिले सम्म कोशीमा कुनै खतरा नरहेको प्रशासनले स्पष्ट पारेको छ। सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले सुनसरीलगायत सप्तकोशी आसपासमा कुनै खतरा नभएको जानकारी दिए। अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो। वर्षाका कारण सुनसरीका खोला तथा नालाहरुमा पानी बढेपनि कहिँकतै डुबानको अवस्था भने नरहेको सुनसरी प्रहरीले जनाएको छ।

पानीको उचित निकासको अभाव र बन्दै गरेका सडक लगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ। खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।

सम्बन्धित समाचार