बाढीका कारण सडक अवरुद्ध उदयपुरको घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र



काठमाडौं । लगातार परेको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको छ ।

यस्तै लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ ।

बाढीका कारण सडक अवरुद्ध भएपछि उदयपुरको घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।

त्यस्तै उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् ।

यस्तै हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुदै काठमाडौं आउने सडक पनि अबरुद्ध भएको छ ।

इन्द्रसरोबर गाउँपालिका वडा नं. २ र ३ का विभिन्न स्थानमा पहिरो गएर फाखेल फर्पिङ भएर काठमाडौं आउने सडक अवरुद्ध भएकोे फर्पिङ प्रहरी चौकीले जनाएको छ ।

पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेको छ ।

यस्तै रुपन्देहीस्थित पाल्पा बुटबल सडकखण्डअन्तर्गतको सिद्धबाबामा पहिरो खसेपछि अबरुद्ध भएको सडक भने सुचारु भएको छ ।

सम्बन्धित समाचार