प्रदेश १ मा बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, चार अझै बेपत्ता



विराटनगर । प्रदेश १ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शनिबार दिउँसोसम्ममा १२ पुगेको छ । चार जना अझै बेपत्ता छन् । बिहीबारदेखि हालसम्म मृत्यु हुने मध्ये सबै भन्दा बढी भोजपुरका पाँच जना छन् । शनिबार बिहान मात्रै भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालले बताए ।

पहिरोले बगाएको भान्छा घरले किचेर ३५ वर्षीय मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको एसएसपी दाहालको भनाइ छ । उनले घटनास्थलबाट तीनै जनाको शव बाहिर निकालिसकिएको जनाए ।

भोजपुरकै रामप्रसादराई –७ का ६६ वर्षीय जगतबहादुर राईको आफ्नै घरले किचेर बिहीबार मृत्यु भएको थियो । भोजपुरकै ट्याम्केमयुङ गाउँपालिका–९ का १४ वर्षीय बालक जनक विकको शौच गर्ने गर्नेमा शौचालयले किचेर शुक्रबार मृत्यु भयो । त्यस्तै खोटाङमा शुक्रबार पहिरोसँगै लडेको घरले किचेर दुई नाबालक छोरासहित आमाको मृत्यु भएको छ । खोटेहयाङ गाउँपालिका–२ की २८ वर्षीय रेखा राई, छोरा ४ वर्षीय रोमन र ७ महिनाका रोहनको घरले किचेर मृत्यु भएको एसएसपी दाहालले बताए ।

ओखलढुंगाको चिसुङखुगडी गाउँपालिका–४ का ८५ वर्षीय पासाङ पुटी शेर्पाको शुक्रबार खोलाले बगाएर मृत्यु भएको छ । इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ५० वर्षीय अञ्चल लावती खोलाले बगाएर मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१० की ६ वर्षीय बालिका एलिजा न्यौपानेको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उदयपुर घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलामा आएको बाढीले बगाएर शनिबार बिहान मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार खोजतलास जारी राखिए पनि खोलाले बगाएर बेपत्ता भएका चार जनाको अवस्था भने अझै अज्ञात छ ।

सम्बन्धित समाचार