न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट को च्याम्पियन



एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।लर्डसमा न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै मात्र २४१ रन बनायो । दुबै टोलीको रन बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इङ्ल्यान्ड उपाधि जितेको हो ।

इङ्ल्यान्डलाई उपाधि दिलाउन बेन स्टोक्स र जोस बटलरले अर्धशतकीय पारी खेले । ९८ बल खेलका स्टोक्सले ५ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । ६० बल खेलेका बटलरले ६ चौकाको सहयोगमा ५९ रनको योगदान गरे । त्यस्तै इङ्ल्यान्डका जोन्नी बेयरिस्टो ३६ रन जोड्दा जेसन रोयल १७ र लियाम प्लंकेटले १० रनको योगदान गरे । बलिङतर्फ न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान तीन–तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि हेनरी निकोलसले अर्धशतक बनाएका थिए । ७७ बल खेलेका हेनरीले ४ चौकाको मदतमा ५५ रन बनाए । ओपनर मार्टिन गुप्टील पवेलियन फर्किएपछि कप्तान केन विलियम्सनसँग साझेदारी गरेका निकोलस लियाम प्लंकेटमार्फत बोल्ड भए ।
टोम लाथम अर्धशतक बनाउन ३ रनले चुके । ५६ बल खेलेका लाथमले २ चौका र १ छक्काको मदतमा ४७ रन बनाए । उनी क्रिस वोक्सको बलमा क्याच भए । कप्तान केन विलियम्सनले ३० रनको योगदान दिए । ५३ बल खेलेका कप्तान विलियम्सन २ चौका प्रहार गर्दै प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए । १८ बलको सामना गर्दै १ छक्का र २ चौकाको मदतमा १९ रन बनाएका गुप्टीललाई वोक्सले एलबिडब्लु धराप पारे ।

जेम्स निसमले १९ रन बनाए । प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भएका निसमले ३ चौका प्रहार गरेका थिए । रोस टेयलर १५ रनमा मार्क वुडको बलमा एलबिडब्लु शिकार भए । १६ रन बनाएका कोलिन डि क्रिस वोक्सको बलमा क्याच भए । म्याट हेनरी ४ रन बनाउँदै जोफ्रा आर्चरको बलमा बोल्ड भए । मिचेल स्यान्टनरले ५ रन बनाउँदा टेन्ट बोल्ड १ रनमा अविजित रहे । इङ्ल्यान्डका लियाम प्लंकेट र क्रिस वोक्सले ३–३ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरको नाममा एक–एक विकेट रह्यो ।

सम्बन्धित समाचार